
२९ पुस, काठमाडौं । आवासीय चिकित्सक र इन्टर्न चिकित्सकलाई साताको कम्तीमा एक दिन अनिवार्य बिदाको दिन समितिले सुझाव दिएको छ ।
चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवासुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्नेलगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिले २४ घण्टा लगातार ड्युटी गरेपछि त्यसपछिको एक दिन अनिवार्य बिदा दिर्नुपर्ने बाध्यकारी नियम लागू गर्न चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको हो ।
हाल आवासीय र इन्र्टन चिकित्सकले वार्षिक १४ दिनको मात्र बिदा पाउने गरेका छन् । शनिबार र सार्वजनिक बिदाका दिनमा पनि आवासीय र इन्टर्न चिकित्सकले काम गर्नु परिरहेको छ । त्यसैगरी, प्रसूति र किरिया बिदासमेत कुनै व्यवस्था गरिएको छैन ।
‘यस्तो निर्मम नियमले महिला आवासीय चिकित्सकहरूको प्रजनन स्वास्थ्य र प्रसूति हुँदा आमा तथा बच्चामा विभिन्न जटिलता उत्पन्न हुने जोखिम हुन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
समितिले आवासीय र इन्र्टन चिकित्सकको हकमा बिदाको व्यवस्था चिकित्सा शिक्षा आयोगले निर्णय गरी विश्वविद्यालय, मेडिकल कलेज र प्रतिष्ठानलाई कार्यान्वयन गर्न निर्देशन दिन समितिले सुझाव दिएको छ ।
‘परिवारको सदस्य मृत्यु हुँदा नेपालको कानुनबमोजिम काजकिरिया बिदाको व्यवस्था गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ,’ वार्षिक २१ दिनको सामान्य बिदा र सात दिनको शैक्षिक बिदाको व्यवस्था गर्नुपर्छ ।’
शारीरिक तथा मानसिक आरामका साथै व्यक्तिगत, पारिवारिक र सामाजिक सम्बन्धहरूलाई मेन्टन गर्न पनि समय चहिने भएकाले ड्युटी मिलाउनुपर्ने आवासीय चिकित्सकहरू बताउँछन् ।
त्यसैगरी, प्रसूति, किरिया, सामान्य तथा शैक्षिक बिदासहितको जम्मा हाजिर हुनुपर्ने अवधिको ८० प्रतिशत हाजिरी पुग्ने आवासीय चिकित्सकलाई परीक्षामा सामेल हुन दिन र गर्भवती चिकित्सकलाई जोखिम धेरै हुने क्षेत्रमा काम नलगाउने समितिले सिफारिस गरेको छ ।
बिदाको व्यवस्था चिकित्सा शिक्षा नियमवली संशोधन गरी नियमवलीमा संलग्न गर्न समितिले सिफारिस गरेको हो ।
प्रतिक्रिया 4