+
+

‘ब्रेक थ्रु सेलिब्रेसन’ को पर्खाइमा सिद्धबाबाकाे मुख्य सुरुङ

बुटवल–गोरुसिंगे सडक शिलान्याश पनि माघ ११ मै गरिने

सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान सडकखण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ मार्ग निर्माणको योजना अघि बढेको हो । यस खण्डको चार किलोमिटर क्षेत्र अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ पुष २९ गते १७:१०

२९ पुस, बटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खनेर सक्न अब साढे एक (१.५) मिटर मात्र बाँकी रहेको छ ।

एक किलोमिटर एक सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एकहजार ८९ मिटर मात्रै हो । जसमध्ये ‘ब्रेक थ्रु’का लागि १.५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् ।

ज्ञवालीका अनुसार दक्षिणमा रहेको सिद्धबाबा मन्दिरतर्फबाट ६०८ र उत्तरतर्फ तिनाउ जलविद्युतको हेडबक्सतर्फबाट ४७९.५ मिटर सुरुङ खनिएको छ । यसअघि तीनवटा बाइपासको ब्रेक थ्रु भइसकेको छ ।

सिद्धबाबा सुरुङ मार्ग योजनाका प्रमुख कृष्णराज अधिकारीका अनुसार माघ ११ गते सुरुङको ब्रेक थ्रु सेलिब्रेसन समारोह हुने भएको छ । सोही दिन साढे एक मिटर खन्न बाँकी भागलाई ब्लास्ट गरेर ब्रेक थ्रु सेलिब्रेसन गरिनेछ ।

‘साढे एक मिटर बाँकी राखेर मुख्य टनेल खन्ने काम यसअघि नै सकिएको छ । ब्रेक थ्रु सेलिब्रेसनका लागि त्यो भाग राखिएको हो, प्रधानमन्त्रीको समय माघ ११ गतेका लागि तय भएको माथिबाट जानकारी आएको छ,’–योजना प्रमुख अधिकारीले भने, ‘सुरुङमार्गको ब्रेक थ्रु सेलिब्रेसन र बुटवल–गोरुसिंगे सडक शिलान्याश पनि सोही दिन गर्ने गरी तयारी भइरहेको छ ।’

टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भूईं र भित्ता ढलान (लाइनिङ),गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतिकरण, भेन्टिलेसन, नालीलगायतका कामहरू शुरु गरिने छ ।

योजनाकी सूचना अधिकारी ज्ञवालीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको छ ।

टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भूईं र भित्ता ढलान (लाइनिङ),गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतिकरण, भेन्टिलेसन, नालीलगायतका कामहरू शुरु गरिने अधिकारीले बताए ।

यस्तै, सिद्धबाबा क्षेत्रको बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।

योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ ।

सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङ मार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सुरुङ मार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको छ । ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै काम पूरा भएको खण्डमा सन् २०२७ को मार्च २२ मा सुरुङ मार्गको निर्माण सम्पन्न हुनेछ ।

 

सिद्धार्थ राजमार्गअन्तर्गत सबैभन्दा दुर्घटना हुने जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभानमा सुरुङ मार्ग बन्दैछ । सरकारले सिद्धबाबा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएर काम सुरु गरेको छ ।

सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान सडकखण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ मार्ग निर्माणको योजना अघि बढेको हो । यस खण्डको चार किलोमिटर क्षेत्र अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ ।

अहिले दैनिक डेढ सयदेखि दुई सयजना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ ।

सुरुङ खनेर सुरक्षाका लागि गरिने कामका साथै बाटो फराकिलो पार्नेसहित अन्य काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।

इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।

आयोजनाअन्तर्गत २ हजार ३ सय ९८ मिटर सडक स्तरोन्नति हुनेछ । ७ सय ८० मिटरमा रकसेड, १ सय ५५ मिटर, १ सय ४५ मिटर र १ सय ३१ मिटर गरी ४ सय ३१ मिटरका तीनवटा बाइपास सुरुङसमेत निर्माण भएका छन् ।

आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।

८ वर्षअघि नै स्विस कम्पनीले गरेको अध्ययनले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७ सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो ।

स्विस कन्सल्ट्यान्ट आईटीईसीओ–एएफ (इटिको–एएफ) ले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गर्न सहयोग गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?