
२९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले २४ वटा आंगिक क्याम्पसमा आइतबार मध्यरात क्याम्पस प्रमुख नियुक्ति गर्यो । नियुक्त भएकाहरूको सूचीमा भने एउटै महिला परेनन् ।
छनोट तथा सिफारिस समितिले सिफारिस गरेका तीनजनामध्ये पहिलो नम्बरमा रहेकालाई नै क्याम्पस प्रमुखमा नियुक्ति गरेको त्रिवि पदाधिकारीको दाबी छ । ‘मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिएको छ । सिफारिस समितिले दिएको नाममा पहिलो नम्बरमा जो छ उसैलाई नियुक्ति गरिएको हो,’ रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने ।
तर, प्राध्यापकलाई उछिनेर सहप्राध्यापक तथा सहप्राध्यापकलाई उछिनेर उपप्राध्यापक क्याम्पस प्रमुख बनेका छन् । यद्यपि, क्याम्पस प्रमुखका लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकले पनि आवेदन दिन भने पाउँछन् । तर, उनीहरूले प्राप्त गर्ने नम्बर भने फरक पर्छ ।
यसरी छनोट समितिले नाम सिफारिस गर्दा गडबड गरेको आशंका त्रिविका उच्च अधिकारीहरूको छ । ‘छनोट समितिले दिएको अंकमा आग्रह/पूर्वाग्रह रहयो कि भन्ने आशंका छ,’ त्रिविका एक उच्च अधिकारीले भने ।
रत्नराज्य लक्ष्मी क्याम्पसमा सहप्राध्यापक डा. पदमकुमार अधिकारी क्याम्पस प्रमुख बने । उक्त क्याम्पसको प्रमुखका लागि प्राध्यापकले पनि आवेदन दिएका थिए । पाँचजनाको सर्ट लिस्टमा प्रा.डा. कृष्णराज आचार्य, प्रा.डा. जीवनधर ज्ञवाली, सहप्राध्यापक नवराज थापा, सहप्राध्यापक मोतीकला सुब्बा र सहप्राध्यापक अधिकारीको नाम छ ।
त्यसैगरी, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधव श्रेष्ठ क्याम्पस प्रमुख बने । छनोट समितिले सार्वजनिक गरेको पाँचजनाको सूचीमा सहप्राध्यापकले पनि आवेदन दिएको देखिन्छ । सानोठिमी क्याम्पसमा सहप्राध्यापक डा. प्रतीमा ताम्राकार, सहप्राध्यापक राजेन्द्र कुँवर, सहप्राध्यापक डा. राजेन्द्रकुमार शाह, उपप्राध्यापक डा. पूर्णबहादुर लामिछाने र श्रेष्ठको नाम पाँचजनाको सूचीमा छ ।
बुटवल बहुमुखी क्याम्पसमा उपप्राध्यापक डा. अरुणकुमार क्षेत्रीलाई नियुक्ति गरियो । तर, छनोट समितिले सार्वजनिक गरेको पाँचजनाको सूचीमा प्राध्यापक र सहप्राध्यापकले पनि आवेदन दिएको देखिन्छ । प्राध्यापक नूरजंग केसी, सहप्राध्यापक मेघराज आचार्य, सहप्राध्यापक डा. शिखरण सुवेदी, उपप्राध्यापक डा. रामनाथ न्यौपाने, र डा. अरुणकुमार क्षेत्रीको नाम सूचीमा छ ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा उपप्राध्यापक डा. टंकप्रसाद पन्थको नियुक्ति भयो । तर, छनोट समितिले सार्वजनिक गरेको तीनजानको नाममा सहप्राध्यापकले पनि आवेदन दिएको पाइएको छ । सहप्राध्यापक टंकप्रसाद भट्टराई, उपप्राध्यापक कृष्णबहादुर कार्की र पन्थको नाम छ ।
ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा क्याम्पस प्रमुख बने । तर, छनोट समितिले नै सार्वजनिक गरेको पाँचजनाको सूचीमा सहप्राध्यापकको नाम पनि छ । जसमा सहप्राध्यापक डा. रमेश पोखरेल, उपप्राध्यापक ओमबहादुर खत्री, उपप्राध्यापक जस्मिन राजभण्डारी, उपप्राध्यापक नरेन्द्रप्रसाद भण्डारी र उपप्राध्यापक यामप्रसाद शर्माको नाम उल्लेख छ ।
योग्यतामा तल रहे पनि पहिलो नम्बरमा सिफारिस भएपछि त्रिविको कार्यकारी परिषद्का सदस्यहरू नै आश्चर्यमा परेका छन् । क्याम्पस प्रमुखमा नियुक्ति गर्नुअघि कार्यकारी परिषद्मा एक नम्बरमा भएकोलाई नियुक्ति गर्ने कि तीन जनामध्येबाट एकजनालाई बनाउने भन्नेमा छलफल भएको थियो । तर, त्रिविका उपकुलपति केसरजंग बराल एक नम्बरमा परेकोलाई नै नियुक्ति गर्न तयार भए ।
यसअघि डीन नियुक्तिमा तीनजनामध्येबाट एकजना छान्दा आलोचना भएपछि परिषद्ले पहिलो नम्बरमा परेकोलाई मेरिटको आधारमा नियुक्ति गर्ने निर्णय गर्यो । तर, छनोट समितिले सिफारिस गरेको नाम खोलेर हेर्ने क्रममा कमजोर पनि पहिलो नम्बरमा परेको त्रिविका उच्च अधिकारीको निष्कर्ष छ ।
‘एक नम्बरमा परेका केही व्यक्तिले क्याम्पस प्रमुख भएर चलाउला र भन्ने लाग्यो,’ त्रिविका एक उच्च अधिकारीले भने, ‘त्रिविको नेतृत्वलाई पनि रियलाइजेसन भएको छ । एक नम्बरमा आयो, तर गतिलो छैन भन्ने महसुस भएको छ ।’
त्रिवि स्रोतका अनुसार ०.२५ नम्बर बढी ल्याएर प्रमुख बनेका व्यक्ति पनि छन् । ‘कसैले ६१ प्रतिशत नम्बर ल्याएको छ । अर्कोले ६१.२५ ल्याएको छ । ०.२५ नम्बर बढी ल्याउनेलाई नै प्रमुख बनाइएको छ,’ त्रिविका एक अधिकारीले भने, ‘एक नम्बरमा आएको सबै अब्बल हुन्छ भन्ने छैन । विगतको ट्रयाक पनि हेर्नुपर्ने हो । आचारण र नेतृत्व क्षमता राम्रो भएका दोस्रो तेस्रोमा पनि थिए ।’
त्रिविका रेक्टर प्रा.डा. खड्ग केसी पनि तीनजनामध्येबाट एकजना छान्दा उपयुक्त हुने व्यक्तिगत धारणा राख्छन् । यसरी छान्दा दलीय भागबन्डाको आरोप लाग्ने भएकाले पहिलो नम्बरमा रहेकालाई परिषद्ले सर्वसम्मत रूपमा नियुक्ति गरिएको उनको दाबी छ ।
‘तीनजनाबाट एकजना छान्दा पनि नराम्रो होइन । तर, भागबन्डाको दृष्टिकोण स्थापित भएर हो,’ उनले भने, ‘यसपटक अंक जसले धेरै ल्याएको छ, उसैलाई नियुक्ति गरिएको हो ।’ अबदेखि पहिलो नम्बरमा रहेकालाई नै नियुक्ति गर्ने विषयमा परिषद्का सदस्य सहमत पनि भएका छन् ।
‘आगामी दिनमा पनि यसैलाई मान्यता दिन परिषद्मा सहमत भएको छ । तर कार्यविधि भने परिवर्तन हुन्छ,’ केसीले भने । यसपटक पहिलो नम्बरमा परेकालाई नियुक्ति गरिएकाले भागबन्डाको नजिर भने तोडिएको त्रिवि नेतृत्वको दाबी छ ।
महिला अटाएनन्
२४ वटा क्याम्पसका प्रमुख नियुक्ति हुँदा एकजना महिला पनि परेनन् । पाटन संयुक्त क्याम्पसको प्रमुखको लागि उपप्राध्यापक उषा जोशी, विश्वभाषा क्याम्पसबाट उपप्राध्यापक लक्ष्मीदेवी रोकाय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट सहप्राध्यापक डा. मुना श्रेष्ठ, सानोठिमी क्याम्पसबाट सहप्राध्यापक डा. प्रतिमा ताम्राकार, ललितकला क्याम्सबाट उपप्राध्यापक जस्मिन राजभण्डारी र केन्द्रीय प्रविधि क्याम्पस धरानबाट सहप्राध्यापक बबिता अधिकारीले आवेदन दिएका थिए ।
यसमध्ये पाँचजनाको सूचीमा विश्वभाषाबाट रोकाय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट श्रेष्ठ, सानोठिमी क्याम्पसबाट ताम्राकार र ललितकलाबाट राजभण्डारीको नाम थियो । तर, तीनजनाको नाम सिफारिस गर्ने समयमा महिला अटाएनन् ।
केन्द्रीय प्रविधि क्याम्पस धरानमा तीनजनाको सूचीमा बबिता अधिकारी परेकी थिइन् । तर उनी सहप्राध्यापक मात्र थिइन् । प्राध्यापकको समेत आवेदन परेकाले उनी एक नम्बरमा नपरेकी हुन् । त्रिविका पदाधिकारीहरू छनोट समितिले दिएको तीनजनाको नाममा महिलाको नाम नरहेको बताउँछन् । ‘छनोट समितिले दिएको तीनजनाको नाममा महिलाको नाम थिएन । आवेदन पनि कम परेको थियो,’ रेक्टर केसी र रजिस्ट्रार रिजालले भने ।
क्याम्पस प्रमुखमा महिलाहरूको नाम नआएपछि विरोध पनि भएको छ । महिला सक्षम हुँदाहुँदै पनि नेतृत्वमा ल्याउन नचाहेको बताउँछिन् पद्यकन्या बहुमुखी क्याम्पकी प्रमुख प्रा.डा. जयालक्ष्मी प्रधान । ‘विश्वमा नै महिलाको नेतृत्वमा बस्न नचाहेको देखिन्छ । महिला योग्य हुँदाहुदै पनि पछाडी छौँ । महिलाले मास्टर, पीएचडी गर्न सक्छन् । प्रमुख भएर किन चलाउन सक्दैनन् ? झन राम्रोसँग चलाउन सक्छौँ,’ उनले भनिन् ।
प्रतिक्रिया 4