
१ माघ, बुटवल । नेपाली ट्रक व्यवसायीहरुले नेपालको सडकको क्षमताभन्दा बढी भार बोकेका भारतीय ट्रक प्रवेशमा रोक लगाउन सरकारसँग माग गरेका छन् । सरकारले भन्सार विन्दुमै ओभरलोडका भारतीय ट्रकलाई नरोके आफूहरुले रोक्ने चेतावनी उनीहरुले दिएका छन् ।
बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल भारतीय ट्रकको ओभरलोडकै कारण भाँचिएको दावी गर्दै नेपाली व्यवसायीहरुले त्यस्ता भारतीय ट्रक नेपाल प्रवेशमा रोक लगाउन सरकारसँग माग गरेका हुन् ।
पुस २६ गते दिउँसो एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको हेभी ट्रक पूर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो । कृष्णनगरबाट आएको उक्त भारतीय ट्रकले शिवम् सिमेन्ट उद्योगको लागि हेभी जेनेरेटर मेसिन बोकेको थियो ।
जेनेरेटर सहित उक्त ट्रकको भार (तौल) कति थियो भन्ने यकिन हुन सकेको छैन तर नेपालको सडक र पुलको भार बहन क्षमता भन्दा निकै धेरै तौल भएकाले नै पुल भाँचिएको नेपाली ट्रक व्यवसायीको दावी छ ।
ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश सहित लुम्बिनी प्रदेशका चार वटा ट्रक समितिले पत्रकार सम्मेलन गर्दै भारवहन सम्बन्धी राज्यले बनाएका ऐन कानून अनुसार भन्सार विन्दुमै भारतीय ट्रकको ओभरलोड नियन्त्रण गरिनुपर्ने अन्यथा आफूहरुले गुड्न नदिने चेतावनी दिएका छन् ।
वर्षौंदेखि ओभरलोड नियन्त्रण गर्न पटकपटक आन्दोलन गरे पनि राज्यका निकायले बेवास्ता गर्दा यसअघि रुपन्देहीको घोडाहा, पश्चिम नवलपरासीको लोकाहा र अहिले दुम्किबासको पुल भाँचिएको समितिको दावी छ ।
ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले सरकारले भन्सार विन्दुमै ओभरलोडका गाडीलाई कडाइका साथ नरोके व्यवसायीले रोक्ने चेतावनी दिए । ‘हामीले वर्षौंदेखि ओभरलोड नियन्त्रण गर्न माग गर्दै पटक–पटक आन्दोलन गर्यौं,तर राज्यले हाम्रो मागलाई बेवास्ता गरे । त्यसैको परिणाम अहिले दुम्किबासको पुल भाँचिएको हो’ अध्यक्ष पाण्डेले भने, ‘नेपालका सडक र पुलले थेग्न नसक्ने ओभरलोड बोक्ने भारतीय गाडीकै कारण नेपालका अर्बौं लगानीका पुल र सडकमा क्षति भएको छ ।’
राज्यले बनाएको कार्यविधि र निर्देशिका अनुसार भन्सार विन्दुमै तौल मापन गरेर बढी भारलाई अनिवार्य झार्नुपर्ने अन्यथा १५ सय रुपैयाँ जरिवाना लिएर छुट दिए कुनै हालतमा चल्न नदिने अध्यक्ष पाण्डेले बताए ।
मालवाहक सवारी साधन भारवहन नियमन सम्वन्धी कार्यविधि २०७१ (संशोधन २०७४) अनुसार मालवाहक सवारीले प्रस्थान विन्दु नजिक, मध्य बिन्दु र गन्तव्य नजिकको तौलपुलमा अनिवार्य रुपमा तिन पटक तौल गराई लोडसिट राखेर मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर यो व्यवस्था पालना नभएको अध्यक्ष पाण्डेले बताए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले भारतीय गाडीलाई ओभरलोड बोक्न छुट दिँदा सडक र पुलमा मात्र क्षति नभई नेपाली ट्रक व्यवसायीको व्यवसाय नै संकटमा परेको बताए ।
‘ओभरलोड गाडीको सामान भन्सार विन्दुमा पल्टी (सामान झार्ने)को व्यवस्था पूर्ण रुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यावसायीहरुले बिजनेस पाउन सकेका छैनन्, ट्रक व्यवसायमा भएको निजी क्षेत्रको करोडौँको लगानी समेत जोखिममा परेको छ, सयौं व्यवसायीहरु पलायन भएका छन्’ गौतमले भने, ‘नेपालका सडक र पुललाई जोगाउन तथा नेपाली ट्रक व्यवसायीलाई पलायन हुन नदिने एउटै उपाय भारतीय गाडीको ओभरलोडलाई भन्सार विन्दुमै कडाइका साथ नियन्त्रण हो ।’
ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नेपाली सडकको बनावट र भारवहन क्षमता ४० टन मात्र रहेको छ । जसअनुसार ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन सम्म मात्रै लोड बोक्न पाउने र नेपाली सडकले भार थेग्न सक्ने पोखरेलले बताए ।
तर भन्सार प्रशासन र प्रहरी प्रशासनको उदासिनताले यो मापदण्ड भन्दा दोब्बर बढी भार बोकेका भारतीय गाडीलाई जरिवाना गराएर उमुक्ति दिइँदै आएको पोखरेलले बताए ।
मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि २०७१ (संशोधन २०७४) लागू भएको अवस्था र कार्यविधिको दफा २ को (झ) मा मालवाहक सवारी साधनले बोकेको सामान सहितको भार प्रमाणित हुने सम्बन्धित सरकारी निकायको वा नेपाल ट्रक यातायात व्यवसायी महासंघले सञ्चालन गरेका तौल पुलले जारी गरेको प्रमाणित कागजात अनिवार्य रुपमा लिएर हिंड्नुपर्ने व्यवस्था छ । तर भारतीय ओभरलोड ट्रकहरुले सो व्यवस्था उल्लंघन गरेका कारण नेपालका राष्ट्रिय राजमार्ग र पुल पुलेसामा क्षति हुनुका साथै दुर्घटना समेत हुने गरेको पोखरेलले बताए ।
मालवाहक सवारी साधनको भारवहन सम्बन्धी निर्देशिका २०७४ (संशोधन सहित) अनुसार नेपालका सडकमा ट्रकको तौलसहित अधिकतम ४०.२ टन मात्र भार हुनुपर्छ ।
तर भारतीय ट्रकले क्षमताभन्दा दोब्बरसम्म बढी भार बोकेर गुड्ने गरेपनि राज्य पक्षले प्रभावकारी नियन्त्रण गर्न नसक्दा नेपालका पुल र सडकमा ठूलो क्षति पुगिरहेको बताए ।
‘१५ सयदेखि ३ हजार रुपैयाँको जरिवाना रसिद काटेर भारतीय ट्रकलाई क्षमता भन्दा झण्डै दोब्बर ओभरलोड बोक्न छुट दिँदा यसअघि रुपन्देहीको घोडाहाको पुल र पश्चिम नवलपरासीको लोकाहा पुल पनि भाँचिएको थियो, अहिले दुम्कीबासको पुल भाँचिएको छ’ पोखरेलले भने, ‘सरकारले ओभरलोड भारतीय ट्रकलाई रोक्न नसक्दा नेपालका पुल र सडकमा अप्रत्यक्षरुपमा अर्बौंको क्षति भएको छ, यसतर्फ राज्य निरीह र लाचार छ ।’
लुम्बिनी ट्रक व्यवासी संघ भैरहवाका अध्यक्ष विष्णु खरेलले भारतीय गाडीको ओभरलोडको कारणले केही साता अगाडि मात्रै बेलहियादेखि भैरहवाको बुद्धचोक सम्मको सडक धसिएर पुनर्निर्माण गर्नुपरेको बताए । नेपालका मुख्य राजमार्ग र बाइपास सडकहरु भारतीय ओभरलोड गाडीका कारण क्षति पुगेको उनले बताए ।
प्रतिक्रिया 4