
काठमाडौं । अस्कर अवार्डको मनोनयन घोषणा कार्यक्रम दोस्रोपटक सरेको छ । पूर्वनिर्धारित १७ जनवरीको मनोनयन घोषणा स्थगित भएको छ ।
लस-एन्जलसमा फैलिरहेको डढेलोको कारण अस्कर मनोनयन घोषणाको नयाँ मिति २३ जनवरीलाई तोकिएको छ । ९७ औं अस्कर नामांकनको उक्त मितिलाई तय गरिएको एकेडेमीका अध्यक्ष बिल क्रेमर र अध्यक्ष जेनेट यांगले पुष्टि गरे ।
मनोनयन घोषणा मिडियाको अनुपस्थितीमा भर्चुअलरुपमा गर्ने तयारी छ । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण यसअघि पनि मनोनयन घोषणा र भोटिङ रोकिएको थियो ।
अस्करले विज्ञप्ति जारी गर्दै १८ फेब्रुअरीमा तोकिएको साइन्टिफिक र टेक्निकल अवार्ड पनि नहुने बताएको छ । तर, अस्कर वितरणको २ मार्चको कार्यक्रम भने यथावत राखिएको छ ।
डढेलोले हलिउडको अवार्ड सिजनलाई बाधा पुर्याएको देखिएको छ । क्रिटिक्स च्वाइस र प्रोड्युसर गिल्ड अवार्डको मनोनयन घोषणाजस्ता कार्यक्रम प्रभावित बनेका छन् । नेटफ्लिक्स श्रृंखला ‘लभ, मेघन’को प्रिमियर रोकिएको छ । यो श्रृंखला जनवरी १५ को सट्टा अब मार्च ४ मा प्रिमियर हुनेछ ।
विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामी पनि अहिलेसम्म २ फेब्रुअरीलाई तय छ । तर, यो मिति पनि डढेलोको अवस्थामा निर्भर हुनेछ । ग्रामीमा यसवर्ष बियोन्से सबैभन्दा धेरै १० विधा र टेलर स्विफ्ट ६ विधामा मनोनित छन् ।
ग्रामीले विज्ञप्ति जारी गर्दै डढेलोबाट प्रभावितको लागि सहायता रकम जुटाउनेदेखि डढेलो निभाउन सक्रिय अग्निनियन्त्रकलाई सम्मान गर्ने पनि जनाएको छ । ‘ग्रामीले कलात्मकतालाई मात्र मनाउँदैन, लस एन्जलसलाई परिभाषित गर्ने लचिलोपनको भावनालाई पनि बढावा दिनेछ’ विज्ञप्तिमा भनिएको छ ।
पपस्टार बियोन्सेले डेढलो प्रभावितको लागि २.५ मिलियन डलरको सहायता घोषणा गरेकी थिइन् । उनले १४ जनवरीमा नयाँ घोषणा पनि गर्ने तयारी थियो तर, यो पनि अन्योलमा परेको हलिउड मिडियाले जनाएका छन् ।
लस-एन्जलसमा फैलिएको डढेलोमा अहिलेसम्म २४ जनाको मृत्यु भएको छ भने २३ बेपत्ता छन् । १० हजारभन्दा धेरै संरचना नष्ट भएका छन् भने लाखौं विस्थापित छन् ।
प्रतिक्रिया 4