+
+

‘फेरि रेशम फिलिली’को गीतमा अमेरिकी सपनाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १४:११

काठमाडौं । विनय श्रेष्ठ स्टारर कमेडी सोसल ड्रामा ‘फेरि रेशम फिलिली’को नयाँ गीत रिलिज भएको छ । ‘ग्रीन कार्डैमा’ बोलको गीतमा फिल्मका केही महत्वपूर्ण दृश्य पनि समावेश छन् ।

गीतले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण पक्ष दर्शाएको छ । अमेरिकाको भिसा लागेपछि फिल्मको मुख्य पात्रलाई बिदाई गर्न गाउँले भेला हुन्छन् । गीतको अन्त्यतिरको एउटा दृश्यमा नीर शाहसहितका पात्रले कामेश्वर चौरासिया लगायतलाई रोकेको देखिन्छ ।

अन्तिम दृश्यमा अमेरिकाको भिसाको संवाद छ । यसको अर्थ, फिल्मको कथावस्तु अमेरिका जान मरिहत्ते गर्ने सपना, अवरोध र बाध्यताको चक्र वरपर घुमेको देखिन्छ । दीपक शर्माको शब्द र संगीत रहेको गीतमा डेभिड शंकरको गायन छ ।

गीतमा शीर्ष कलाकार विनय र सुपुष्पा भट्टसहित नीर शाह, कामेश्वर चौरासिया र कमेडियन मेक्सम गौडेल फिचर्ड छन् । गाउँको सेटिङमा खिचिएको गीतले गाउँमा अमेरिकी सपना कसरी मौलाएको छ भन्न दर्शाउँछ । ‘रेशम फिलिली’को पहिलो भागमा मुख्य पात्र कतार जान संघर्ष गरिरहेको देखिएको थियो ।

यद्यपि, निर्माताले दोस्रो भागसँग पहिलो भागको कथावस्तुको सम्बन्ध नरहेको बताइरहेका छन् । तर, चरित्र चित्रणको हिसाबले कथासँग कनेक्ट भएको अनुमान गर्न सकिन्छ ।

यसअघि २०७२ सालमा रिलिज भएको पहिलो भाग ‘पारी त्यो डाँडा’ गीतले चर्चित बनेको थियो । फिल्ममा प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, सजन थापाको पनि अभिनय छ ।

फिल्मलाई निरोज महर्जनले लेखन, निर्देशन गरेका हुन् । रौनकविक्रम कँडेल निर्माता हुन् । एनी थापा सहनिर्मात्री हुन् । कार्यकारी निर्माता सुरज बम हुन् । सिनेमा आर्ट र भी मोसन पिक्चर्सको ब्यानरमा फिल्म बनेको हो ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ । फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

‘फेरि रेशम फिलिली’ १४ फागुनमा प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?