+
+

घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक छ : दाहाल

घले जातिको पहिचान मेटाउन पहिचानवादी भनिएकाहरू नै लागेको लिःल फङका अध्यक्ष घलेको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १६:५६

१ माघ, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक रहेको बताएकी छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा गरेको शुभकामना कार्यक्रममा उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको बताएकी हुन् ।

भरतपुर महानगर सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उनको भनाइ थियो । दाहालले पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने धारणा पनि राखिन् । एकजुट हुन नसके प्राप्त उपलब्धिहरू गुम्ने भन्दै उनले त्यस्तो अवस्था आए थप अधिकार प्राप्त गर्न असम्भव हुने जिकिर गरिन् ।

घले समाजका केन्द्रीय अध्यक्ष दिनेशकुमार घलेले पहिचानको मुद्दालाई अझ सशक्त बनाउनुपर्ने बताए । नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि विभिन्न आदिवासी जनजातिहरू सूचीकृत हुने क्रममा घलेहरूलाई छुटाइएको अध्यक्ष घलेको भनाइ थियो ।

‘हामीलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण गरियो,’ लिःल फङका अध्यक्ष घलेले भने, ‘हाम्रो पहिचान मेटाउन पहिचानवादी भनिएकाहरू नै एकजुट भए ।’

घलेहरूको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ । नेपालको प्राचिन इतिहासदेखि नै आफ्नै भाषा, संस्कृति र लिपी भएको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा सरकारले अल्पसंख्यक आदिवासीको मान्यता थियो ।

०६८ सालको जनगणनाअनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन । १ माघलाई थारु, मगर र हिन्दू समुदायको पर्वका रूपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?