+
+

काठमाडौं महानगरमा दमकल जान नसक्ने गल्लीमा ‘ड्राइराइजर’

७ वटा वडामा २.५ किलोमिटर ड्राइराइजर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते २०:१४

१ माघ, काठमाडौं। आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौं महानगरपालिकाले ड्राइराइजर जडान गरेको छ । महानगरको विपद व्यवस्थापन विभागले वडासँग मिलेर ड्राइराइजर जडान गरेको हो ।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरले जनाएको छ ।

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।

कहाँ कहाँ हुँदैछ काम ?

महानगरको केन्द्रबाट कार्यान्वयनमा आएका योजनामा वडा ३ को सुरुङ् गल्लीमा ८२ मिटर, वडा नं. ७ को कुटी गल्लीमा २०७ मिटर, वडा नं. ६ को संगम टोलमा २२८.२० मिटर पाइप जडान भएको छ । वडा नम्बर १० का ५ वटा गल्लीमा प्रणाली जडान भएको छ ।

मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटरको पाइप जडान भएको हो ।

वडा नम्बर १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर, वडा नम्बर १६ को फुलबारी गल्लीमा १६७.८० मिटर र बगैँचा गल्लीमा २५२.५५ मिटर, वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर र ज्यापू मार्गमा १७४.२० मिटर पाइप जडान भएको विपद व्यवस्थापन विभागले जनाएको छ ।

पाइप जडान भएका स्थानमा जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले वडा नं. २१ को ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्मको गल्लीमा १३० मिटर पाइप जडान गरेर गएको वर्ष नै परीक्षण गरेको हो ।

यसको लागत करिब ८ लाख रुपैयाँ हो । वडा नम्बर २९ को कालिञ्चोक मार्गमा, वडा नम्बर २५ को मांस गल्लीहुँदै महावौद्धतर्फको गल्लीमा पनि प्रणाली जडान भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?