२ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलसहित चेल्सी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा लिभरपुलले नोटिङहाम फरेस्टसँग बराबरी खेल्दा चेल्सीले एएफसी बर्नमाउथ र सिटीले ब्रेन्टफोर्डसँग बराबरी खेलेको हो ।
नोटिङहामको मैदानमा भएको खेल १-१ को बराबरीमा टुङ्गियो । आठौं मिनेटमा क्रिस वूडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएको भएपनि ६६औं मिनेटमा लिभरपुलका लागि डियोगो जोटाले बराबरी गोल फर्काए ।
त्यसैगरी चेल्सी घरेलु मैदानमै बराबरीको नतिजा निकाल्यो । खेलमा सुरूमा अग्रता लिएपनि चेल्सीले लय गुमाउँदा २-१ ले पछाडि परेको थियो । अन्तिममा गोल फर्काउँदै हार टारेको थियो ।
१३औं मिनेटमा कोल पाल्मरले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५०औं मिनेटमा जस्टिन कुलिभर्टले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ६८औं मिनेटमा एन्टोनी सेमेन्योले गोल गरेपछि बर्नमाउथले अग्रता लियो । इन्जुरी समयमा रीश जेम्सले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए ।
यस्तै म्यान्चेस्टर सिटीले भने २-० को अग्रता जोगाउन नसक्दा ब्रेन्टफोर्डसँग अंक बाँड्यो । खेलमा सबै गोल दोस्रो हाफको ६५ मिनेटपछि भएका थिए ।
फिल फोडेनले ६६औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलएका थिए । ७८औं मिनेटमा फोडेनले नै गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
८२औं मिनेटमा यान विसाले गोल गरे भने क्रिस्टियन नोरगार्डले इन्जुरी समयमा गोल गर्दै घरेलु टोलीको हार टारे ।
प्रतिक्रिया 4