
२ माघ, काठमाडौं। अमेरिकामा ‘हिउँको गीत’ चलचित्रको छायांकन गरिएको छ । सिनेमा ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका चलचित्र छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा छायांकन गरिएको हो ।
‘साँघुरो’ फिल्मबाट चिनिएका निर्देशक, तथा अभिनेता जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार फिल्मलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्यको छायांकन गरेसँगै फिल्म सम्पादन चरणमा प्रवेश गरेको हो।
नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको यस चलचित्रले भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक फरक पुस्ताको सपना, आकांक्षा र संघर्षको को कथा भन्छ ।
एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् फिल्मले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविर र अमेरिका आइसकेपछि परिवारका फरक फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई दर्शाएको छ ।
साँस्कृतिक संस्थानमार्फत् रंगमञ्चको औपचारिक अध्ययन तथा अभ्यास थालेका लेखक तथा निर्देशक विमल सुवेदीले भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका बिभिन्न आयाम अध्ययन गरेका छन् ।
दिल्लीबाट फर्केर काठमाडौंमा थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा पटकपटक नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन् ।
‘हिउँको गीत’ १२ वर्षअघि बिजारोपण भएको थियो । सुवेदीले पछि यसलाई नाटकको रुपमा भारतमा प्रस्तुत गरे, जसबाट उनले अत्यन्त प्रसिद्ध ३ वटा मेटा अवार्ड पनि जितेका थिए। गतवर्ष अमेरिकामा सोही कथामा “हिटलर आउँदैछ’ नाममा सांगीतिक नाटकसमेत बनाएका थिए ।
‘यो फिल्म नेपालीभाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ, निर्देशक सुवेदी भन्छन्, ‘बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि नाटक निर्माणका क्रममा भेटेका सयौँ व्यक्तिहरुसँग भेटेर सुनेको अनुभवको आधारमा यो फिल्म तयार भएको हो।
बर्बर यातना भोगेका नेपालीभाषी भुटानीहरुको अनुभव मात्र होइन, देशबाट लखेटिनुअघि भुटानको राज्य संयन्त्रले गोप्य रुपमा गरेका योजनाबद्ध घटना नेपाली मौलिक कथाको शैलीमा दृश्यांकन गर्ने प्रयास गरेको छु। तर यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आएका संसारका आप्रवासीको कथा समेट्छ।’
नाट्य विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएका सुवेदीले यो नाटकका शिल्पलाई प्रयोग गर्दै एकैपट दुई तरिकामा फिल्म खिचिएको बताएका छन्। फिल्म सम्पादन, ध्वनी, संगीत, रंग संयोजन तथा पर्दापछाडिका कार्यमा फरक फरक समूहले समानान्तर रुपमा काम गर्नेछन्। कथ्य संरचना नै बेग्लै रहने अर्को फिल्मको नाम “द स्नो इज सिङ्ङिङ’ राखिएको छ।
जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य कार्यकारी निर्माताको रुपमा रहेका छन् भने मनोरथ खनाल, राकेश भट्टराई, रमेश लुइँटेल सह निर्माताका रुपमा रहेका छन् । फिल्मलाई ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, बिमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन्।
ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजिकरणमा तयार भएको फिल्म निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउँ स्टुडियोले सहकार्य गर्ने छन्।
वर्षा राउत, जोयश पाण्डेय, पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य, थोमस किथ स्कटको प्रमुख भूमिका तथा केदार उप्रेती, आर. बी. खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, कृस्टल पराजुली, एन्जेलिना पराजुली, जोशन रामदाम, निर्मल खनाल, विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम लगाएत विभिन्न देशी तथा विदेशी कलाकारहरुको समेत अभिनय रहेको फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् ।
फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन्। फिल्मलाई चिन इन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन्। आयुषा सञ्जेल सहायक निर्देशक रहेको फिल्ममा दिकेश खड्गी शाहीको ध्वनी रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्व समूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन रहेको छ ।
यसमा कौशिला खनाल कर्मचार्य, आर. बी. खड्का, डम्बर नेपाली, प्रतीमा श्रेष्ठको शब्द, तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ ।
प्रतिक्रिया 4