
२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् ।
बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन् ।
समर्थकले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो । लामिछानेको मुद्दामा आजै आदेश आउने बताइएको छ ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए ।
रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।
उनका अनुसार, इजलासबाट निस्किनासाथ उनलाई सुरुमा युट्युबरहरूले घेरेका थिए ।
बहसबारे सोधिएपछि आफूले केही बोल्न खोज्ने क्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ ?’ भन्दै एउटा हुलले आएर दुर्व्यवहार गरेको त्रिपाठीको भनाइ छ ।
‘मैले बोल्दैगर्दा उनीहरूले घेरेर लछारपछार गर्न थाले, भुइँमा लडाइदिए’, उनले अनलाइनखबरसँग भने, ‘मलाई पनि एक दुई घुस्सा लाग्यो । तर, बढी चोट मलाई बचाउन खोज्नेलाई लाग्यो ।’
यसपछि दुर्व्यवहारमा संलग्नलाई खोजेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
रास्वपाले भने सहकारी पीडितका वकिल त्रिपाठीमाथि आक्रमणमा आफ्ना कार्यकर्ता संलग्न नरहेको दाबी गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले वक्तव्य निकाल्दै आक्रमणमा संलग्नलाई कारबाही माग गरेका छन् ।
विपक्षबाट बहस गर्ने व्यवसायीमाथि आक्रमणमा संलग्न देखिएको भन्दै प्रहरीले कार्यकर्ता तथा समर्थकहरुकै बीचबाट ललित केसीलाई समातेको छ । उनलाई प्रहरी वृत्त, सिंहदरबारको टोलीले समातेर जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको छ ।
सहकारी पीडितका वकिल त्रिपाठीमाथ रास्वपा समर्थकको आक्रमणप्रति कानुन व्यवसायी लगायतले विराेध जनाएका छन् । उनीहरुले रास्वपाबाट भइरहेका गलत र आक्रमणकारी क्रियाकलाप रोकिनुपर्नेमा माग पनि गरेका छन् ।
प्रतिक्रिया 4