
२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमि सम्बन्धी अध्यादेशमाथि कटाक्ष गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए ।
उक्त अध्यादेश जारी भएसँगै मेयर शाहले आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।’
उनले बधाई दिँदै लेखेका छन्, ‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ ।
सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको स्रोतले बतायो ।
भूमि आयोगले गरेको सिफारिसका आधारमा कामलाई तीव्रता दिने हिसाबले व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालय निकट स्रोत बताउँछ ।
प्रतिक्रिया 4