+
+

सय वर्षअघि बनेको थियो नेपालमा पहिलो सडक, राणाकालमा ३७६ किमि

राणा शासन अन्त्य भएको ७४ वर्ष अवधिमा देशभरिका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जाल विस्तार भएको छ । नेपालमा सडक लम्बाइ २ सय ७० गुणाले बढेको देखिन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ माघ ३ गते १८:२६

३ माघ, काठमाडौं । मुलुकभरि सबै तहका सरकारले निर्माण गरेको सडक लम्बाइ १ लाख २ हजार किलोमिटर पार गरिसकेको छ ।

आजभन्दा १ सय वर्षअघि १९८० सालदेखि नेपालमा राणा शासनकालमै सडक निर्माण सुरु भए पनि त्यसपछिको २७ वर्ष अवधिमा ३ सय ७६ किलोमिटर मात्र सडक निर्माण भएको थियो ।

तर, त्यसपछिको ७४ वर्ष अवधिमा देशभरिका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जाल विस्तार भएको छ भने चार लेनको सडक निर्माण र विस्तारले गति लिन थालेको छ । यस अवधिमा नेपालमा सडक लम्बाइ २ सय ७० गुणाले बढेको देखिन्छ ।

नेपालमा २००७ सालमा राणा शासन अन्त्य भई प्रजातन्त्र आयो । उक्त समयमै नेपालमा ३ सय ७६ किलोमिटर सडक निर्माण भइसकेको थियो ।

सडक विभागका अनुसार राणा शासन अन्त्य (२००७ साल) सम्म नेपालमा ५ किलोमिटर कालोपत्र सडक बनिसकेको दस्तावेज छ । यस अवधिमा ८३ किलोमिटर ग्राभेल र २ सय ८८ किलोमिटर माटे सडक बनिसकेको थियो ।

विभागका अनुसार २६ चैत २००८ मा तत्कालीन यातायात तथा सञ्चार विभागले सूचना प्रकाशित गरेको थियो । जसमा काठमाडौं, भक्तपुर र काभ्रे बनेपासम्म सर्वसाधारण जनतालाई सुविस्ता प्रदान गर्ने उद्देश्यले सवारी चलाउन दरखास्त माग गरिएको थियो । सोही क्रममा सडकबारे विवरण उल्लेख भएको थियो ।

२००७ साल अगाडि नेपालमा सडक निर्माण र नियमनमा सक्रिय नयाँ बाटो काज गोश्वारा र पुरानो बाटो काज गोश्वारा नामक अड्डा थिए ।

यी अड्डा गाभेर सार्वजनिक निर्माण विभाग स्थापना गरिएको थियो । कालान्तरमा यही अड्डा सडक विभागमा रूपान्तरण भएको हो । सडक विभागको औपचारिक स्थापना २०१७ साल ताका भएको इतिहास छ ।

त्यस्तै २००७ सालअघि बनेका सडकमा ढुंगा छापिएका हुन्थे । त्यसबेला बनेका मुख्य सडकहरू भीमफेदी–अमलेखगञ्ज, बुटवल–भैरहवा, राजधानी काठमाडौं भित्रका सडक र तराईका केही सहरमा इँटा र ढुंगा छापिएका एक लेन भएका सडक थिए ।

सडक निर्माण इतिहास शताब्दी पुरानो

दस्तावेजहरूमा देखिए अनुसार नेपालमा सडक निर्माणको काम १९८० सालको दशकबाट सुरु भएको पाइन्छ । सोही समयमा काठमाडौं उपत्यकाभित्र सडक बनेको थियो । काठमाडौं उपत्यका भित्र १९९८ सालमा पहिलो पटक कार भित्र्याइएको थियो । त्यो कार भीमफेदीबाट मानिसले बोकेर ल्याएका थिए ।

काठमाडौं उपत्यका बाहिर निर्माण भएको पहिलो सडक ४२ किलोमिटर लामो अमलेखगञ्ज–भीमफेदी सडकलाई लिइन्छ । लामो दूरीको पहिलो सडकका रूपमा भने काठमाडौंलाई तराईसँग जोड्ने काठमाडौं–भैंसे सडक (त्रिभुवन राजपथ) भारतको सहयोगमा २००९ सालमा निर्माण सुरु भएको थियो ।

कस्ता थिए संरचना ?

संस्थागत रूपमा हेर्दा २००७ सालभन्दा पहिले राणाकालमा काठमाडौंमा सार्वजनिक निर्माण सम्बन्धी काम बाटो काज गोश्वारा र छम्भडेल अड्डा नामक अड्डाबाट हुन्थ्यो ।

देशका अन्य स्थानमा निर्माण सम्बन्धी काम गर्न ‘बनाउने अड्डा’ नामक अड्डा थियो । त्यसपछि नयाँ निर्माणका लागि ‘नयाँ बाटो काज गोश्वारा’ तथा निर्मित संरचनाको मर्मत सम्भारका लागि ‘पुरानो बाटो काज गोश्वारा’ नामको अड्डा थियो ।

सडक विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका सडक मर्मतमा समरजंग कम्पनी नामको अर्धसैनिक अड्डा समेत थियो । यस निकायले पुरानो बाटो काज गोश्वारा अन्तर्गतका काम गर्ने गरेको समेत दस्तावेजमा पाइएको छ ।

राणाकाल अन्त्यतिर नयाँ बाटो काज अड्डा खडा गरी काठमाडौं र हेटौंडा जोड्ने सडक (बागमती करिडोर हुँदै) सर्वेक्षणको काम गरिएको थियो । पछि कान्ति राजपथ सर्वेक्षण तथा निर्माणका लागि ‘बागमती उपत्यका सडक योजना’ स्थापना गरिएको विभागले जनाएको छ ।

पुरानो बाटो काज अड्डाले भने मुख्य रूपमा भीमफेदी–अमलेखगञ्जको साविक खण्डाश्मित सडक मर्मतको काम गर्ने गरी जिम्मेवारी पाएको थियो । कान्ति राजपथको तत्कालीन शाही नेपाली सेनाले २०११ सालमा सर्वेक्षण गरेको थियो । नेपाली सेनाको राजदल गणले २०१७ सालसम्म ९१ किलोमिटर लामो कान्ति राजपथमध्ये ७० किलोमिटर ट्र्याक निर्माण गरेको थियो ।

महेन्द्र राजमार्गले खोलेको ढोका

नेपालमा सडक विकासमा सबैभन्दा उन्नत आयोजना महेन्द्र राजमार्ग हो । यो आयोजना १ वैशाख २०१९ मा शिलान्यास भएको हो । १ हजार २८ किलोमिटर लामो यो सडक निर्माणलाई गति दिन तत्कालीन राजा महेन्द्रको अध्यक्षतामा पूर्व–पश्चिम राजमार्ग समिति बनाइयो । निर्माण सुरुवात त्यो बेला भए पनि यस राजमार्गलाई कालोपत्र स्तरमा सम्पन्न गर्न भने चार दशक लागेको थियो ।

भारतसँग २०१० सालमै जोडियो, चीनसँग कहिले ?

नेपाल र भारत सडक मार्गका माध्यमबाट २०१० साल ताका नै जोडिएको थियो । उत्तरको छिमेकी चीनसँग जोडिन भने २०२३ सालसम्म कुर्नुपरेको थियो । काठमाडौं–कोदारी (अरनिको राजमार्ग) समेत २०१९ सालमै शिलान्यास भएको थियो ।

विभागका एक उच्च अधिकारीका अनुसार तत्कालीन राजा महेन्द्रले अगाडि बढाएका दुई सडक आयोजना पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग नेपाली अर्थतन्त्रका लागि आजको दिनमा समेत महत्त्वपूर्ण ‘लाइफलाइन’ हुन् ।

‘सडक पूर्वाधारमा नेपालमा यी निकै महत्त्वपूर्ण दूरदर्शी आयोजना सावित भए,’ उनी भन्छन् । अरनिको राजमार्ग निर्माण तेस्रो आवधिक योजना २०२३–२०२६ मा निर्माण सम्पन्न भयो । यसै अवधिमा मुग्लिन–पोखरा (पृथ्वी राजमार्ग) को ट्र्याक निर्माणको काम समेत भयो । त्यसपछि पोखरा समेत राजधानी काठमाडौं र तराईसँग जोडिन पुगेका हो ।

चौथो योजनापछि क्षमता अभिवृद्धि

चौथो पञ्चवर्षीय आवधिक योजनापछि भने संस्थागत क्षमता बढाउन विभिन्न प्रयास भएको विभागले जनाएको छ । यसबीचमा नेपाल रोड स्ट्यान्र्डर्ड २०२७ र सार्वजनिक सडक ऐन २०३१ जारी भएको थियो । यसै अवधिमा सडकलाई मोटर चल्ने र नचल्ने आधारमा ‘मार्ग’ र ‘बाटो’ मा वर्गीकरण गरी मार्गलाई ‘राजमार्ग’, ‘मुख्यमार्ग’ र ‘क्षेत्रीय राजमार्ग’ मा विभाजन गरिएको थियो । बाटोलाई भने चक्रेटो, घोडेटो र गोरेटोमा वर्गीकरण गरिएको थियो ।

पाँचौं आवधिक योजनामा भने महेन्द्र राजमार्ग निर्माण सम्पन्न, काठमाडौं–दोलालघाट–धनकुटा सडक र पोखरा–सुर्खेत राजमार्ग निर्माणलाई गति दिइएको थियो ।

यसै अवधिमा रत्न राजमार्ग, धनगढी–डडेलधुरा र धरान–धनकुटा सडक निर्माण्मा जोड दिइएको दस्तावेजमा उल्लेख छ । २०४७ सालमा प्रजातन्त्र स्थापनापछि सडक निर्माणले अझ गति लिएको थियो । तर, २०५८ सालबाट २०६२ सालसम्मको संकटकालीन अवस्थामा केही सुस्त भएको देखिन्छ ।

दोस्रो जनआन्दोलनपछि सडकमा क्रान्ति

२०६२/६३ को दोस्रो जनआन्दोलनपछि नेपालमा सडक निर्माणमा क्रान्ति नै आएको छ । खासगरी ग्रामीण सडक निर्माण बिजुली गतिमा भइरहेको छ । २०६३ सालमा देशभरि सडक लम्बाइ १७ हजार ६ सय ९ किलोमिटर थियो । २०८० मा आइपुग्दा देशको संघीय, प्रादेशिक र स्थानीय सडक गरेर कुल लम्बाइ १ लाख १ हजार ५ सय किलोमिटर पुगेको छ ।

अहिले संघीय सडकको मात्रै लम्बाइ ३४ हजार २ सय ६७ किलोमिटर पुगेको आर्थिक सर्वेक्षण २०८१ मा उल्लेख छ ।

अहिले कहाँ छ सडक पूर्वाधारको अवस्था ?

१६औं आवधिक योजना २०८१/८२–२०८५/८६ अनुसार मुलुकभरि निर्माण भएको सडक लम्बाइ १ लाख किलोमटिर माथि पुगेको अनुमान छ । २०६२ सालमा शान्ति स्थापनापछि र मुलुक संघीयतामा प्रवेश गरेसँगै सडक निर्माणले गति लिएको हो ।

यस्तो छ हालसम्मको सडक पूर्वाधार अवस्था

  • सडक पहुँच : ७७ जिल्ला
  • राष्ट्रिय सडक सञ्जालमा सदरमुकाम : ७७ जिल्ला
  • कालोपत्र सडक सदरमुकाम : ७२ जिल्ला
  • राष्ट्रिय राजमार्गमा सूचीकृत सडक : ८०
  • राष्ट्रिय राजमार्ग पहिचान सडक : १४,९१३ किमि
  • कालोपत्र राष्ट्रिय राजमार्ग : ७,८०० किमि
  • चार लेन वा त्यसभन्दा बढी लेनका कालोपत्र सडक लम्बाइ : ४०० किमि
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?