३ माघ, धनगढी । धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा आगामी १९ माघदेखि २८ गतेसम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।
बिहीबार आयोजकले धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले यो वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गरिन लागेको जानकारी दिए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शाहीले बताए ।
‘प्रतियोगिताका खेलहरूका लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भइसकेका छन् । मैदानमा दर्शकहरूलाई बस्नका लागि कृक्रिम प्याराफिट पनि जडान गरिसकिएको छ,’ अध्यक्ष शाहीले भने, ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म तयारी ९० प्रतिशत सकिएको छ । सामान्य तयारीहरू अबको केही दिनमा सम्पन्न गरेर प्रतियोगिताको प्रतिक्षामा रहने छौं ।’
यस्तै, बिहीबार नै अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्रफी अनावरण गरेका हुन् । ट्रफी अनावरण गर्दै मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवा पुग्ने र क्रिकेटमा लागेका तमाम शुभच्छुकहरूलाई हौसला मिल्ने विश्वास व्यक्त गरेका छन् ।
‘यो आयोजनका लागि आयोजकलाई धन्यवाद । प्रदेश सरकार आफ्नो तर्फबाट सहयोग समर्थन गर्न सदैव तयार रहेको छ । आम क्रिकेट प्रेमी जनमानसमा बढी भन्दा बढी सहभागिता र सहयोगका लागि आह्वान गर्दछु,’ मुख्यमन्त्री शाहले भने ।
धनगढी र सुदुरपश्चिम प्रदेशकै क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फम्र्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरू धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यु होराइजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् ।
प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् ।
सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहेका छन् । गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीको नेतृत्वमा क्रिकेटको शहर धनगढीमा नेपालमा अक्सनको सुरुवात हुँदै धनगढी प्रिमियर लिग (डिपिएल) को आरम्भ गरिएको थियो ।
नेपाली क्रिकेटको विकासमा कोसेढुंगा सावित भएका धनगढी क्रिकेट लिग, एसपीए कप लगायतका प्रतियोगिताहरू पनि उनकै नेतृत्वमा सफल आयोजना भएको थियो । शाहीले धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन ड्रिम फाप्लाको अभियानदेखि हाल धनगढीमा ग्रासरुट क्रिकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
प्रतिक्रिया 4