+
+

तरकारी खेती गरेर वार्षिक ४ लाख कमाउँछन् तुलसीपुर-१२ का वडाध्यक्ष चौधरी

रासस रासस
२०८१ माघ ३ गते १७:३०

३ माघ, तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन्। प्याजका बेर्ना उम्रिँदै छन् ।

उनी उक्त वडाका वडाध्यक्ष पनि हुन्। वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन् ।

‘तरकारीखेती हाम्रो पुरानो पेसा हो’, उनले भने, ‘म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिन।’ करिब तीन कठ्ठा जमिनमा उनले गोलभेडाखेती गरेका छन् । अन्यमा केराउ, प्याज, लसुनखेती गरेका छन् । चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनी तीन बाली खेती लगाउने गर्छन् । कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ ।

वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा छन् । साउनमा काँक्रा, सिमी र बोडी रोप्ने गर्छन् । असोजमा गोलभेडा, केराउ रोप्ने गरेको उनी बताउँछन् ।

‘जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन’, वडाध्यक्ष चौधरीले भने, ‘तर, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस्।’

उनले उत्पादन गरेका तरकारीले उचित बजार भने पाउन सकेको छैन। भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उनको गुनासो छ । चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उनले बताए ।

हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ ।

गोलभेडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उनले वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएका छन् । उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?