
३ माघ, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले लामो समयदेखि माग गर्दै आएको कालोबजारी ऐन लगायत अन्य ऐनमा सरकारले अध्यादेशहरू मार्फत गरेको संशोधनलाई सकारात्मक लिँदै स्वागत गरेको छ ।
संघले मंगलबार विज्ञप्ति जारी गरी सरकारको पछिल्लो कदमबाट मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
‘समय सापेक्ष र वैज्ञानिक ऐन, कानुन व्यवसायमैत्री वातावरण निर्माण र लगानी अभिवृद्धिका लागि अपरिहार्य हुन्छन् । सरकारले यो तथ्य मनन गर्दै ऐन कानुनहरूमा समय सापेक्ष सुधार गरेबाट आगामी दिनमा अझ उत्साहजनक वातावरण तयार हुने अपेक्षा गर्न सकिन्छ,’ विज्ञप्तिमा छ ।
उद्योग, व्यवसायसँग सम्बन्धित ऐन कानुनमा गरिएको संशोधनबाट बजार मागमा आएको संकुचन न्यूनीकरण हुने, व्यवसायीको खस्किँदो मनोबल उकास्न बल पुग्ने र लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह हुने संघले जनाएको छ ।
‘पछिल्लो पटकको ऐन संशोधन अनुसार नियमावली र कार्यविधि संशोधन गर्न र बन्न बाँकी नियमावली र कार्यविधि पनि यथाशीघ्र तयार गरी व्यवसायमैत्री ऐन, कानुन कार्यान्वयन हुने वातावरण तयार गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा छ ।
संसदमा छलफलमा रहेको भन्सार विधेयक २०८० पनि उद्यमी–व्यवसायीका चासोका विषयलाई सम्बोधन हुने गरी यथाशीघ्र पारित गरी कार्यान्वयन गर्न संघले आग्रह गरेको छ ।
प्रतिक्रिया 4