+
+

अध्यादेश खारेजी माग्ने विपक्षी तयारी, आउलान् सीके राउत ?

माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले शुक्रबार एक वक्तव्य निकाल्ने तयारी गरेका छन्, जहाँ सीके राउतको जनमत पार्टीलाई पनि समेट्ने प्रयास छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते २२:३३

३ माघ, काठमाडौं । सरकारले भर्खरै जारी गरेका अध्यादेशविरुद्ध विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने निर्णय गरेका छन् ।

माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले शुक्रबार एक वक्तव्य निकाल्ने तयारी गरेका छन्, जहाँ बहुमतको बलमा विपक्षीलाई पेल्न खोजिएको भन्दै अध्यादेश खारेज गर्न माग गर्ने भनिएको छ ।

शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै ती दलहरुले विरोध गरेका छन् । बुधबार संयुक्त बैठक गर्दै दलहरुले संविधानको मर्म भावनामा प्रहार गर्ने काम भइरहेको निर्णय गरेका थिए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले यो साता गरेका सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशका रुपमा जारी गरिसकेका छन्, जसबारे विपक्षी दलहरुको कडा प्रतिक्रिया सार्वजनिक हुन लागेको हो ।

शुक्रबार सार्वजनिक हुने वक्तव्यमा सरकारको छ महिने समीक्षा पनि हुने नेताहरुले बताएका छन् । उनीहरुले सुशासनको नारामा स्थापित सरकारले त्यसविपरीत काम गरेको आरोप पनि लगाएका छन् ।

विपक्षी दलहरुले सीके राउतको जनमत पार्टीलाई पनि वक्तव्यमा समेट्न चाहे पनि त्यस दलका नेताहरु भने पन्छिएका छन् ।

रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले संसद बोलाउन छाडेर अध्यादेशबाट देश चलाउन सरकार लागेको भन्दै अध्यादेश खारेजी माग गर्न लागिएको बताए । ‘हामीले सरकार लोकतान्त्रिक बाटोमा हिँड्न छाडेर गम्भीर विषयहरुमा पनि अध्यादेशबाट अघि बढ्न खोज्यो भनेका छौं,’ अर्यालले भने, ‘अब त सभामुखले पनि संसदबाट अघि बढ्नबाट तर्किनु भएन भनेर सरकारलाई सुझाव दिइसक्नुभएको छ । हामी यसैबारे साझा धारणा सार्वजनिक गर्ने तयारीमा छौं ।’

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बुधबार बसेको विपक्षी दलहरूको बैठक । फाइल तस्वीर

विपक्षी दलहरुले सीके राउतको जनमत पार्टीलाई पनि वक्तव्यमा समेट्न चाहे पनि त्यस दलका नेताहरु भने पन्छिएका छन् । जनमत पार्टीका नेताहरुले सरकारका कतिपय कदम आलोचनायोग्य रहे पनि विपक्षी दलहरुको मोर्चाबन्दीमा तत्काल सामेल बन्ने परिस्थिति नरहेको अडान लिएका छन् ।

जनमत पार्टी अध्यक्ष सीके राउतले आफूहरु अझै पनि सत्ता गठबन्धनमै रहेको र मधेसमा सत्ता–सहकार्य जारी रहेको भन्दै अहिले विपक्षी मोर्चामा सामेल हुने सम्भावना नरहेको बताए । ‘उहाँहरु (विपक्षी नेताहरु) बाट फोन आएको थियो, तर अहिले कुनै सम्भावना छैन भनिदिएँ,’ अनलाइनखबरसँग राउतले भने, ‘संविधान संशोधनबारे सुरुमा धेरै कुराकानी चले पनि यसबीचमा ठूलो केही विषय आएको छैन, अनि विपक्षीहरुसँग गइहाल्नुपर्ने त्यस्तो कुनै कुरा पनि छैन ।’

यसबीचमा राउत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीबीच भने पटक पटक छलफल चलेको प्रसंगमा प्रचण्ड, माधव नेपाल लगायत नेताहरुले पनि राउतसँग सम्पर्क बढाउन चाहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?