३ माघ, काठमाडौं । आगामी माघ ७ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टिम सहभागी हुने जनाएको हो ।
‘हामीले खुल्ला छनोटबाट टिम छनोट गरेका हौँ । २०० बढी विश्वविद्यालयलाई प्रस्ताव गरेको थियौं’ प्रतियोगिताको संयोजक गणेश थापाले बताए । आयोजकले प्रतियोगितामार्फत जलवायु परिवर्तनको मुद्दालाई एकजुट हुने मञ्चको रुपमा लिएको छ ।
नेपालबाट चार टोलीमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय छन् । भारतबाट दिल्ली विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले सहभागी हुनेछन् ।
कुल ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख रूपैयाँ पुरस्कार पाउने छन् । ५ लाख बराबरको पुरस्कार भने विधागततर्फ उत्कृष्ट हुनेले पाउने छन् ।
त्यसैगरी आयोजकले प्रतियोगिताको विजेतालाई सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गराउने बताएको छ ।
कान्छा पर्वतारोही निमा रिन्जी शेर्पा प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
प्रतिक्रिया 4