
काठमाडौं । शुक्रबारदेखि माघ महिनाका फिल्म प्रदर्शनमा आउन थालेका छन् । यो महिनादेखि घरेलु बक्स अफिस चलायमान हुने अपेक्षा गरिएको छ । ठूलो ब्यानर र चलेका कलाकारका फिल्म एकपछि अर्कोगरी प्रदर्शन तयारीमा छन् ।
महिनाको पहिलो शुक्रबार एक विदेशीसहित दुई नेपाली फिल्म रिलिज भएका छन् । नेपाली भाषाका ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’सहित बलिउड फिल्म ‘आजाद’ हलमा लागेका छन् ।
मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’मा प्रिन्स थापा, शिवानी गिरी, सरोज खनाल, कृष्ण मल्ल लगायतको अभिनय छ । दुई घण्टा १६ मिनेट लामो ट्रेलरमा हास्य, रोदन, एक्सनजस्ता तत्वको मिश्रण छ ।
नयाँ कलाकारको बाहुल्यता रहेको अर्को नेपाली भाषाको फिल्म ‘फिरफिरे फिरिरी’ पनि प्रदर्शनमा आएको छ । हरर कमेडी जनराको यो फिल्मले केही साथीको कथा भन्छ, जसको जीवनमा एक युवतीको प्रवेशपछि आउने उतारचढाव चित्रण गरिएको छ ।
नवीन भट्ट निर्देशित फिल्ममा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी लगायतको अभिनय छ । यो फिल्मको रनटाइम १५१ मिनेट छ ।
शुक्रबारदेखि अजय देवगण स्टारर बलिउड फिल्म ‘आजाद’ पनि प्रदर्शनमा आएको छ । अभिषेक कपुर निर्देशित फिल्मलाई एक्सन एड्भेन्चर ड्रामा जनरामा राखिएको छ । सन् १९२० को दशकमा भारमा एक जवान केटा एक उत्साही घोडासँग सामीप्य छ । विद्रोह र अत्याचारको बीचमा उसले राजसी जनावरको सवारी गर्ने साहसको खोजी गर्छ । यसले उसलाई देशको स्वतन्त्रताको लडाइँमा लाग्न प्रेरित गर्छ ।
अहिले पनि नेपालका हलमा पूर्णबहादुरको सारङ्गी, कार्साङ, पुष्पा २, गेम चेन्जर, मुफासा : लायन किङ प्रदर्शन भइरहेका छन् ।
प्रतिक्रिया 4