+
+

मुस्ताङ खिच्न किशोर कायस्थलाई लाग्यो २० वर्ष

पेन्टिङजस्ता लाग्ने ३० तस्बिरमा मुस्ताङको प्रकृति र अध्यात्म कुँदिएको छ । किशोर कायस्थले २० वर्ष लगाएर खिचेका यी तस्बिरले दर्शकलाई दिने सन्तुष्टि वर्णनातीत छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ माघ ४ गते १८:११

४ माघ, काठमाडौं । पेन्टिङजस्ता लाग्ने तस्बिरमा मुस्ताङको प्रकृति र अध्यात्म कुँदिएको छ । मरुभूमिजस्ता लाग्ने पहाड, छेउका सुन्दर हिमालहरू छन् । दिन र रात, बिहान र साँझ अलग अलग समयमा खिचिएका तस्बिरले दर्शकलाई दिने सन्तुष्टि वर्णनातीत छ ।

फोटो कलाकार किशोर कायस्थ भने यसमा स्वाभाविक मेहनतमात्रै परेको दाबी गर्छन् ।

सन् २००४ तिर मुस्ताङ जाँदा किशोरले एक दृष्टिविहीन विदेशी भेटेका थिए, जो आफ्नो कठिनाइकाबीच पनि मुस्ताङ्गी माटोको बास्ना सुँघ्ने चाहनावश त्यहाँ पुगेका थिए । ‘मैले आँखाले मुस्ताङ नदेखेर के भयो त, यहाँको हावा र माटोको बास्ना त लिन सकिहाल्छु नि,’ ती दृष्टिविहीनले यसो भन्दा किशोर आफूसँग भएका धेरै चीजहरूको महत्त्व बुझ्ने भएका थिए ।

त्यसपछि उनी दर्जनौंपल्ट मुस्ताङ पुगे । कागबेनी हुँदै उपल्लो मुस्ताङका विभिन्न छटाहरूलाई अलिअलि गर्दै क्यामरामा कैद गर्न थाले ।

अहिले काठमाडौंको नेपाल कला परिषद् बबरमहलमा जारी ‘मुस्ताङ नोस्टाल्जिया : टु डिकेड्स ओडिसी’ फोटो प्रदर्शनीमा राखिएका ३० तस्बिर किशोरका तिनै लगावको परिणाम हो । प्रदर्शनी ६ माघ, आइतबारसम्म चल्नेछ ।

किशोरले अति महँगा क्यामरादेखि सस्ता क्यामरासमेत प्रयोग गरेर ती तस्बिरहरु राखेका छन् । हेर्न आउने जो कोही ती तस्बिरलाई पेन्टिङजस्तो भनेर प्रशंसा गरिरहेका हुन्छन् ।

यसरी प्रशंसा गर्नेमा पर्छन् नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ ।

प्रदर्शनी हेर्न बबरमहल पुगेका गुरुङ भन्छन्, ‘भागदौडबाट पर शान्त हिमाली जिल्लाका तस्बिर हेर्दा मलाई मुस्ताङ नै गएजस्तो लाग्यो ।’

मनीषा कोइरालालगायत कलाकार, रवीन्द्र मिश्र लगायत नेता, पारस खड्का लगायत खेलाडी, कुन्द दीक्षित लगायत लेखकहरू बबरमहल गइसकेका छन्, जहाँ किशोरका अद्भुत कर्महरू चित्रित छन् ।

किशोर आफ्ना फोटोबारे भन्छन्, ‘मेरो अहम्, घमन्ड कति सानो रहेछ भन्ने कुरा मुस्ताङ गएपछि थाहा पाएँ । यी तस्बिर सन् २००४ देखि सन् २०२४ का बीचमा खिचें ।’

हिमालको उचाइमा विस्तारै हिँड्नुपर्ने, दौडिन खोजे असफल भइने यथार्थलाई उनी आफ्ना जीवनका वास्तविकताहरूसँग तुलना गर्छन् ।

यो तस्बिर प्रदर्शनीको विशेषता के छ भने यहाँ १६–१७ वर्षदेखिका नयाँ पुस्ताको बाक्लो उपस्थिति छ, जसले सोसल मिडियामा सूचना पाएका भरमा बबरमहल पुगेको छ ।

नयाँ पुस्तामा ‘अटेन्सन् स्प्यान’ कम छ भन्छन् । तर एउटै तस्बिरमा धेरै बेरसम्म घोरिएर हेरिरहने दर्शकले यो परिभाषालाई प्रश्न गरिरहेका छन् । किशोर भन्छन्, ‘फोटो हेर्दाहेर्दै आँशु खसालिरहेका दर्शकले मलाई पनि भावुक बनाएका छन् ।’

किशोरलाई लाग्छ– कलाको परख गर्नेहरू यसरी नै बढ्दै गए भने नेपाली कलाकार बाध्यताले बाहिरिनुपर्दैन, उनीहरु आफ्नो रुचिले मात्रै अन्यत्र जान सक्छन् ।

किशोरले तस्बिर बिक्रीको घोषणा नगरे पनि कतिपय दर्शकले महँगो मूल्यमा तस्बिरहरु किनेको कला परिषद्ले बतायो ।

किशोरका यी तस्बिर छपाउन लाग्ने खर्च अमेरिकी दूतावासले जुटाएको छ । त्यसका लागि चाहिने कागज भने उनी आफैंले विदेशबाट मगाए ।

किशोरका अनुसार उनलाई आफ्ना फोटोहरुका लागि बेलायतको हाउस अफ् लर्डमा हिमालयन अवार्डले अर्को साता पुरस्कृत गरिंदै छ ।

किशोरले यी फोटोहरु खिच्ने क्रममा जीवन र मृत्युलाई नजिकैबाट आभास गरेको सुनाए ।

२००४ बाट मुस्ताङ खिच्न थाल्ने क्रममा किशोरले धेरै हप्ताहरु त्यहाँ बिताएका छन् । पछिल्लो वर्षमा जलवायु परिवर्तनले दिएका दुःखहरुलाई उनले क्यामराबाट भन्न कोसिस गरेका छन् ।

‘२०२४ मा जाँदा १२ दिन लगाएर एउटा मात्रै फोटो खिचें, मुस्ताङमा जुन बदलाव आएको छ, त्यो मैले नजिकैबाट देखेको छु,’ उनी भन्छन् ।

उनी आफ्ना तस्बिरसहित १४ देशमा प्रदर्शनीमा निस्कने तयारीमा छन् ।

तस्बिरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?