+
+

लुम्बिनी प्रदेश सभा : वित्तिय उत्तरदायित्व विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १६:४४

६ माघ, बुटवल । लुम्बिनी प्रदेश सभामा पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको पाँचौं अधिवेशनको तेस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गरेका थिए ।

सो प्रस्तावको सैद्धान्तिक छलफलमा तीनजना प्रदेश सभा सदस्यले भाग लिएका थिए । प्रदेश सभा सदस्य निमा गिरीले आर्थिक स्थायित्व कायम गर्न विधेयकले मार्गनिर्देशन प्रदान गर्ने बताइन् ।

योजना तथा बजेट निर्माण गर्दा प्रदेश सभा सदस्यको भूमिका बढाउनुपर्ने धारणा राखिन् ।

‘योजना निर्माणमा प्रदेश सभा सदस्यलाई जोड्न जरुरी छ,’ उनले भनिन्, ‘बजेटमाथिको सैद्धान्तिक छलफलको समय एक महिना राखिनुपर्छ । विधेयकमा १५ दिन कायम गरिएको छ । प्रदेश आयोजना बैंकलाई प्रभावकारी बनाउने गरी विधेयकले समेट्नुपर्छ ।’

प्रदेश सभा सदस्य इन्द्रजित थारूले प्रदेशको आर्थिक तथा वित्तिय अधिकारलाई कार्यान्वयन गर्नेगरी विधेयक आएको बताए ।

‘योजना र बजेट निर्माणलाई प्रभावकारी बनाउन जरुरी छ । राजश्वको अनुमान र खर्चको अनुमान मिल्यो कि मिलेन समिक्षा गर्न जरुरी छ,’ उनले भने, ‘अहिलेसम्म राजश्व र खर्चको अनुमान मिलेका देखिँदैन । अब प्रि–बजेटमाथिको छलफल गर्ने व्यवस्था गर्न जरुरी छ ।’

घाटापूर्ती गर्ने स्रोत सुनिश्चित गरेर मात्रै बजेट ल्याउन उनले सुझाव दिए । प्रदेश सभा सदस्य विष्णु पन्थीले बजेट निर्माणको कामलाई व्यवस्थित गर्नुपर्ने बताए ।

‘बजेट बनाउदा एकखाले अराजकता छ । त्यसलाई तोड्न जरुरी छ,’ उनले भने, ‘प्रदेश सभा सदस्यलाई बढी जिम्मेवार बनाएर बजेट ल्याउँदा त्यसको कार्यान्वयन पक्ष बलियो हुन्छ ।’

बैठकमा विशेष समयमा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सरकारले सामाजिक अराजकतालाई न्यूनीकरण गर्नेगरी भूमिका बढाउनुपर्ने बताए । प्रदेश सभा सदस्य भगवती अधिकारीले विद्यालयमा विद्यार्थी कुटिने र अंगभंग भएकोघ घटनाको छानविन गर्न माग राखिन् ।

प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले सदनमा उठेका प्रश्न तथा सवालको जवाफ सरकारले दिनुपर्ने माग राखे । प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तु क्षेत्रमा छाडापशु चौपायाको समस्या अझैं समाधान हुन नसकेको सुनाए ।

प्रदेश सभ सदस्य यमबहादुर नेपालीले मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्न जोड दिए । प्रदेश सभा सदस्य निमा गिरीले आयोजना बैंकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

बैठकमा पाँचौं अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्वन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्तिमगरले पढेर सुनाएका थिए ।
अब पाँचौँ अधिवेशनको चौथो बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?