+
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप :

विश्‍वकप प्रिभ्यू : स्कटल्याण्डसँग खेल्दा नेपालको नजर सुपर सिक्समा

२०८१ माघ  ६ गते १८:३२ २०८१ माघ ६ गते १८:३२
विश्‍वकप प्रिभ्यू : स्कटल्याण्डसँग खेल्दा नेपालको नजर सुपर सिक्समा

६ माघ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् ।

१६ टोली सम्मिलित विश्‍वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन ।

त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । यस्तोमा यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो । दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने अपेक्षा राख्ने छन् ।

नेपालले महिला क्रिकेटमा त्यसमाथि पनि यू-१९ स्तरमा स्कटल्याण्डसँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघि पनि विश्‍वकप खेलिसकेको स्कटल्याण्ड छनोटबाट आएको टिम हो । त्यसकारण नेपाल र स्कटल्याण्डको स्तर एउटै हुनेछ ।

सोमबार स्कटल्याण्डसँग खेल्दै गर्दा नेपालको नजर सुपर सिक्समा रहनेछ । स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो अवस्थामा रहनेछ । यही अवस्था स्कटल्याण्डका लागि पनि हुनेछ ।

समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाललाई एक जितले मात्र पनि सुपर सिक्समा पुर्‍याउन सक्छ । त्यसकारण बंगलादेशलाई हराउन नसके पनि नेपाल स्कटल्याण्डविरूद्ध जित चाहन्छ ।

मौसम र पिच

गत शनिबार पहिलो खेलका क्रममा पनि वर्षाको सम्भावना हुँदा केही समय मात्र हल्का वर्षा भएकाले नेपालको खेललाई असर गरेको थिएन । सोमबार बाङ्गीको मौसम शनिबारको भन्दा राम्रो हुनेछ । यद्यपी बादलले ढाकिएको अवस्था भने हुनेछ । वर्षाको सम्भावना चाहिँ कम छ ।

सोमबार पनि दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ । यस मैदानमा यसअघि भएका दुवै खेलमा रन बनेका छैनन् । अस्ट्रेलिया र स्कटल्याण्ड तथा बंगलादेश र नेपालबीचको खेल लो स्कोरिङ भएको थियो ।

भोलिको मौसम पनि ओभरकास्ट नै देखिएकाले बलरहरूलाई मद्दत पुग्नेछ । टस जितेमा कप्तानले बलिङ नै रोज्नेछन् ।

सुधार गर्नुपर्ने पक्ष

पहिलो खेलमा नेपालका पाँचजना ब्याटर रनआउट भएका थिए । नेपालले त्यो गल्ती सुधार गर्नुपर्ने हुन्छ । फिल्डरको हातमै बल हुँदा रनका लागि दौडनु घातक हुन्छ । त्यसैले स्ट्राइक रोटेट गर्दै कुनै पनि रिस्क नलिइकन ब्याटिङ गर्नुपर्ने छ ।

त्यस्तै नेपालले फिल्डिङमा केही रनहरू एक्स्ट्रा खर्चिएको थियो । एउटा शानदार रनआउट गरेको भएपनि फिल्डिङमा बललाई राम्रोसँग जज गरेर विपक्षी ब्याटरलाई दबाब सिर्जना गर्न सकिन्छ ।

प्रभाव पार्न सक्ने खेलाडीहरू

नेपाल : नेपालबाट कप्तान पुजा महतो, ब्याटर सोनी पाख्रिन र बलर रचना कुमारी चौधरी प्लेयर्स टु वाचका रूपमा रहनेछन् ।

पुजाले ब्याटिङ र बलिङ दुवैमा महत्वपूर्ण योगदान दिन सक्छिन् । बंगलादेशविरूद्ध रनआउटको शिकार भएपनि उनी नेपालको ब्याटिङमा लिडरको भूमिकामा रहनेछिन् । बलिङमा पनि मिडियम पेसमार्फत विकेट लिन सक्षम छिन् ।

त्यस्तै सना प्रवीनले पहिलो खेलमा नेपालका लागि सम्हालिएको ब्याटिङ गर्दै सर्वाधिक रन बनाएकी थिइन् । दोस्रो खेलमा पनि सोही अपेक्षा रहनेछ । रचना कुमारी चौधरीले बाँयाहाते स्पीन बलिङमा विपक्षीलाई दबाब दिन सक्छिन् । उनले पहिलो खेलमा पनि राम्रो लेन्थमा बलिङ गर्दै १ विकेट लिएकी थिइन् ।

स्कटल्याण्ड : स्कटल्याण्डबाट एमा वाल्सिङहाम, नयमा शेख र मासी माकेइरा प्लेयर्स टु वाचका रूपमा रहनेछन् । वाल्सिङहामले ओपनिङमा राम्रो सुरूवात दिलाउन सक्छिन् ।

त्यसैगरी नयमासँग सिनियर टिमबाट खेलिसकेको अनुभव छ । उनले बाँयाहाते ब्याटिङ गर्दै मिडल ओभरमा राम्रो खेल्न सक्छिन् भने लेग ब्रेक र मिडियम दुवै बलिङमार्फत विकेट निकाल्न सक्छिन् । माकेइराले मिडियम पेस बलिङमा दबाब सिर्जना गर्न सक्छिन् ।

खेल : नेपाल विरूद्ध स्कटल्याण्ड, आईसीसी यू-१९ महिला टी२० विश्‍वकप
मिति र समय : २० जनवरी २०२५ (२०८१ माघ ७), १२:१५ बजे (नेपाली समय)
स्थान : यूकेएम ओभल, बाङ्गी, मलेसिया
मौसम : बादलले ढाकिएको आकाश, वर्षाको सम्भावना कम

आईसीसी यू-१९ महिला टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय