
काठमाडौं । ७ वर्षअघिको चर्चित फिल्म ‘मंगलम’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । पाका निर्माता छविराज ओझाले ‘मंगलम’को दोस्रो श्रृंखलाबाट निर्माणमा फर्किन तय भएको हो ।
ओझा अभिनेता राजेश हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’का निर्माता समेत हुन् । २०७४ सालमा रिलिज भएको ‘मंगलम’पछि उनी फिल्म वितरणमा सक्रिय थिए ।
गुण फिल्म हलका प्रमुख दिजेन्द्र शाक्यसँग मिलेर उनले ‘मंगलम २’ बनाउने तय भएको छ । ओझा र शाक्य लामो समयदेखि फिल्म निर्माणका साझेदार हुन् ।
‘मंगलम २’लाई नवल नेपालले नै निर्देशन गर्नेछन् । नेपाल निर्देशित पछिल्लो फिल्म ‘मारुनी’ ४ वर्षअघि प्रदर्शनमा आएको थियो । ‘मंगलम २’लाई छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिले निर्माण गर्न लागेका हुन् ।
नवलले यसअघि यो व्यानरका दुई फिल्म ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए । फिल्म ‘मंगलम’को गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि उत्तिकै लोकप्रिय छ । ‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्धित गरेका छन् । निर्माता ओझाका अनुसार फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक हुनेछन् ।
प्रतिक्रिया 4