
काठमाडौं । साढे २ वर्षपछि गायक सुशान्त केसी आउँदो फागुन अन्त्यमा काठमाडौंमा गुञ्जिने पक्का भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनको प्रतीक्षित कन्सर्टबारे जानकारी दिइयो ।
भक्तपुरको सल्लाघारी मैदानमा केसीले अन्तर्राष्ट्रिय नारी दिवसको छेकोमा २४ फागुनको शनिबार प्रस्तुति दिन लागेका हुन् । उनको कन्सर्टको नाम ‘सुशान्त केसी लाइभ इन नेपाल’ राखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै केसी लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित सुनिए । ‘यसका लागि मैले धेरै तयारी गरिरहेको थिएँ । अन्ततः दर्शकमाझ आउने प्रतीक्षा समाप्त हुनै लागेको छ’ उनले भने ।
सल्लाघारी कन्सर्टमा आफूले एक नयाँ गीत रिलिज गर्ने घोषणा पनि उनले उक्त अवसरमा गरे । ‘दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनुहुनेछ’ उनले भने, ‘यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरिरहेको थिएँ ।’
कन्सर्टमा सुशान्तले आफ्ना हिट गीतहरू बार्दली, सारंगी, साथी, आमा, उड उडीजस्ता गीत गाउनेछन् । पछिल्लो समय नेपालमा म्युजिक कल्चरमा वृद्धि हुनुलाई उनले सकारात्मकरुपमा ब्याख्या गरे । पछिल्लोपटक अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा गुन्जिएका केसीको भक्तपुर कन्सर्टलाई लिएर फ्यानमाझ उत्साह छ ।
आफूले भ्यूजको लागि संगीत सिर्जना नगर्ने उनले बताए । ‘मैले अरु केही कुरा नसोचिकन म्युजिक बनाउँछु । युनिभर्सले मेरो मिहेनतलाई फिर्ता देको छ’ भ्यूजको लागि गीत गाउनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनको उक्त जवाफ थियो ।
पछिल्लो ब्लकबस्टर गीत ‘बार्दली’लाई संक्षिप्तरुपमा गुनगुनाएका केसीले इन्द्रकला राईजस्ता नयाँ आवाजसँग सहकार्य गर्न पाउनु खुसीको कुरा भएको बताए । ‘बेहुली फ्रम मेघौलीको गीत उडायो मन सुनेर मैले उहाँसँग सहकार्य गरेको हुँ । उहाँजस्ता नयाँ ट्यालेन्टसँग काम गर्न इच्छुक छु’ उनले भने ।
सुशान्तको भक्तपुर कन्सर्टमा १५००० दर्शक सहभागि हुने अपेक्षा आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक सदस्यहरूले कन्सर्टको सुरक्षा प्रबन्ध चुस्तदुरुस्त हुने र यसका लागि स्थानीय प्रशासनसँग समन्वय हुने बताए । कन्सर्टलाई एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सले आयोजना गर्न लागेका हुन् ।
दर्शकले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्ने जनाइएको छ । टिकट मूल्यमा साधारणको ९९० रुपैयाँ, फ्यानपिटको १४९९ रुपैयाँ र भीआइपीतर्फको २४९९ रुपैयाँ तय गरिएको खल्तीले जनाएको छ । खल्तीले आइतबारदेखि नै टिकट विक्री सुरु भएको समेत जनाएको छ ।
सुशान्तको कुरा गर्दा, उनी सन् २०२४ मा इन्टरनेट प्लाटफर्ममा सबैभन्दा धेरै स्ट्रिमिङ हुने नेपाली कलाकार हुन् ।
प्रतिक्रिया 4