+
+

सुजन चापागाईं जेठ १८ मा दुबईमा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १३:०७
सन् २०२३ मा सिड्नीमा प्रस्तुति दिंदै सुजन चापागाईं

काठमाडौं । गायक सुजन चापागाईंले आगामी जेठ १८ (१ जुन)मा यूएईको दुबईमा लाइभ ब्यान्डसहित प्रस्तुति दिने भएका छन् । आयोजक निपफिल्म्सले सोमबार सुजनको कन्सर्ट मिति घोषणा गर्दै दुबईको अल–नासार लिजरल्याण्डमा प्रस्तुति दिने तय भएको जनाएको छ ।

मध्यपूर्वका अन्य मुलुकमा पनि सांगीतिक टुरको पहल भइरहेपनि अहिलेलाई दुबईको मिति मात्र तय भएको निपफिल्म्सका रमेश ढकालले बताए ।

पछिल्लो समय रुचाइएका गायक सुजनको यो दोस्रो अन्तर्राष्ट्रिय टुर हुनेछ । सन् २०२३ को सुरुवातमा उनी अस्ट्रेलियामा गुञ्जिएका थिए । मध्यपूर्वमा पहिलोपटक गुञ्जिन लागेका उनले चाँडै अमेरिकामा पनि प्रस्तुति दिने तयारी छ ।

निपफिल्म्सले टिम पालाजसँगको सहकार्यमा दुबईमा कन्सर्ट गर्न लागेको हो । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका साझेदार समेत रहेको निप फिल्म्सका प्रमुख ढकालले सुजनकै संगीत रहेको फिल्म ‘ऊनको स्वीटर’लाई मध्यपूर्वमा वितरणको जिम्मा लिएको छ । यो फिल्मको गीत ‘मखमली’ यसै महिना नेपालसहित अस्ट्रेलिया र मध्यपूर्वका देशमा युट्युब ट्रेन्डिङमा थियो । उनको अघिल्लो गीत ‘एक्लै भए नि मेरो प्रेम’ पनि निकै रुचाइएको थियो । कोभिड महामारीताका सार्वजनिक भएको गीत ‘तीनपाते’बाट सुजन नेपाली सांगीतिक क्षेत्रमा चिनिएका हुन् । उनको स्वर तथा संगीत रहेका बाफ, लजाएर, घुमी घुमी, फूलथुंगे रानी लगायत गीत लोकप्रिय छन् ।

उनलाई स्पोटीफाइमा मासिक सुन्ने श्रोताको संख्या १ लाख ५१ हजार छ । अस्ट्रेलिया र यूएईमा त उनका पछिल्ला दुवै गीत युट्युब चार्टमा ट्रेन्डिङमा थिए जुन अवसर कमै संगीतकर्मीलाई प्राप्त हुन्छ ।

फिल्म ‘ऊनको स्वीटर’ २६ वैशाखमा प्रदर्शन तयारीमा छ । विश्वव्यापी प्रदर्शनमा आएको एक महिनापछि हुन लागेको कन्सर्टले सुजनको लोकप्रियतालाई अझै वृद्धि गर्ने अपेक्षा छ । रिलिजअघि नै यूएईमा रहेको क्रेजलाई आत्मसात गर्दै सुजनको कन्सर्ट तय गरिएको आयोजक संस्थाका ढकालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?