+
+

ट्रम्पको शपथ समारोहमा कुन-कुन कलाकारले दिनेछन् प्रस्तुति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १४:११

काठमाडौं । नयाँ अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले नेपाली समयानुसार आज राति शपथ ग्रहण गर्दैछन् । उनले केही कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ । ३६ घण्टा बन्द रहेको टिकटक ट्रम्पको प्रतिबद्धतासँगै सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुन विश्व नेताहरू, अर्बपति उद्यमी र सेलेब्रिटी वासिङ्टनमा भेला भएका छन् । चुनावताका ठूला सेलेब्रिटीको नजरमा नपरेका ट्रम्पको शपथमा भने कलाकारको लर्को लाग्नेछ । शपथ समारोहमा प्रस्तुति दिने कलाकारको लाइनअप समेत सार्वजनिक भएको छ ।

यस वर्ष कन्ट्री जनराको संगीतको स्वाद ट्रम्पको शपथमा गुञ्जिनेछ । किनभने, यो जनराका हस्तीहरू बिली रे साइरस र किड रकले प्रस्तुति दिने तय भएको छ । यी दुवै कलाकारले सन् २०२४ को चुनावमा ट्रम्पलाई खुलेर समर्थन गरेका थिए । ५३ वर्षीय रक जसको वास्तविक नाम रोबर्ट जेम्स रिची हो, धेरै वर्षदेखि उनी रिपब्लिकन पार्टी र राष्ट्रपति–निर्वाचितका मुखर समर्थक हुन् ।

रकले आइतबार वासिङ्टनको क्यापिटल वन एरिनामा ‘मेक अमेरिका ग्रेट अगेन’ र्‍यालीमा पप स्टार माइली साइरसका पिता समेत रहेका ६३ वर्षीय गायक साइरससँग प्रस्तुतिमा सामेल हुनेछन् । उनीहरू लिबर्टी बलमा कन्ट्री गायक जेसन एल्डियन, गायक र सेक्सोफोनिस्ट ली ग्रीनवुडसँग प्रस्तुत हुनेछन् ।

कन्ट्री ब्याण्ड रास्कल फ्ल्याटमा समेत प्रस्तुति दिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकन आइडल स्टार क्यारी अन्डरवूड पनि प्रस्तुतिमा सामेल हुने अपेक्षा गरिएको छ । आठ पटकको ग्रामी विजेता स्टारले ट्रम्पले पदको शपथ लिनुभन्दा केही समयअघि सशस्त्र बलको क्लबसँग मिलेर ‘अमेरिका द ब्युटीफुल’ गाउनेछिन् ।

गायक क्रिस्टोफर म्याचियोले ‘ओह अमेरिका’ गाउनेछन् । जेडी भेन्सीले उपराष्ट्रपतिको शपथ लिनुअघि उनले गाउने तयारी छ ।  अमेरिकी राष्ट्रिय गानका साथ समारोहको समापन हुनेछ ।

ट्रम्पको शपथ ग्रहण समारोहमा केही सेलेब्रिटी सहभागी हुँदैछन् । अभिनेता जोन भोइट शपथ समारोहमा सहभागी हुनेछन् जसलाई केही दिनअघि ट्रम्पले हलिउडडको विशेष दूतमा नियुक्त गरेका थिए । अर्का हलिउड विशेष दूत सिल्भेस्टर स्टेलोन पनि उपस्थित हुनेछन् । ट्रम्पका प्रखर समर्थक तथा हिपहप स्टार कान्ये वेस्ट पनि शपथ समारोहमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?