
काठमाडौं । इण्डियन आइडल विजेता प्रशान्त तामाङको लोकप्रियता नेपालीमाझ ब्यापक छ । ‘गोर्खा पल्टन’बाट नेपाली फिल्म करिअर थालेका उनले ९ नेपाली फिल्ममा काम गरेका छन् । उनको पछिल्लो फिल्म ‘परदेशी २’ हो ।
यस्तोमा, तामाङले अमेजन प्राइम भिडियोको चर्चित वेब-सिरिज ‘पाताल लोक २’मा अभिनय गरेका छन् । १७ जनवरीबाट प्लाटफर्ममा रिलिज भएको सिरिजमा तामाङलाई स्निपर ड्यानियलको भूमिकामा देख्न सकिन्छ । उनको अभिनयको यतिबेला प्रशंसा भैरहेको छ ।
सिरिजमा उनी भिलेनको चरित्रमा देखिएका छन् । सो क्राइम थ्रिलर सिरिज दिल्लीमा आयोजित समारोहमा एक नागा ब्यापारीको हत्याको घटनाबाट सुरु हुन्छ । यो घटनाले एकपछि अर्को श्रृंखलाको पर्दाफास गर्छ । सिरिजमा छानविनकर्ता हथीराम चौधरी (जयदीप अहलावत) र इमरान अन्सारी (इश्वाक सिंह) देखिएका छन् । कथा अघि बढ्दै जाँदा यसले नागाल्याण्डको सामाजिक-राजनीतिक जटिलता प्रस्तुत गर्छ ।
तामाङको सशक्त र रहस्यमय स्निपर डेनियलको चित्रणले कथामा महत्वपूर्ण तह थपेको छ जसले दर्शक र समीक्षकबाट प्रशंसा प्राप्त गरेको छ । समीक्षकले ‘पाताल लोक सिजन २’लाई बोल्ड कथावाचन, जटिल कथा र उत्कृष्ट प्रदर्शनको लागि प्रशंसा गरेका छन् ।
सुदीप शर्मा र अविनाश अरुण निर्देशित सिरिजमा रोचक अपराध श्रृंखलाको कथा समेटिएको छ । यसअघि छायांकन सेटबाट समेत उनको तस्वीर सार्वजनिक भएको थियो ।
प्रतिक्रिया 4