+

जाडोमा कस्तो अवस्थामा चिसो पानीले नुहाउनु हुँदैन ?

२०८१ माघ  ७ गते १६:५२ २०८१ माघ ७ गते १६:५२
जाडोमा कस्तो अवस्थामा चिसो पानीले नुहाउनु हुँदैन ?

चिसो पानीले नुहाउँदा रक्तसञ्चार बढ्छ । प्रतिरोधात्मक क्षमता बढ्छ । छालामा चमक बढ्छ । तनाव कम हुन्छ । यो सब सम्भव हुन्छ । जब मौसम शरीर अनुकूल हुन्छ । शरीर अनुकूल मौसम छैन भने चिसो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी गर्छ ।

विशेषगरी जाडो मौसममा बाहिरी वातावरण अत्यन्त चिसो हुन्छ । यस्तोमा चिसो पानीले नुहाउनु घातक साबित हुनसक्छ । चिसोमा बढी च्याप्ने खालको स्वास्थ्य समस्या भएका व्यक्तिले चिसो पानीबाट जोगिनु नै उचित हुन्छ ।

कस्तो रोग भएका व्यक्तिले चिसो पानीमा नुहाउन हुँदैन ?

मुटुरोग

मुटुरोग भएकाले चिसो पानीले नुहाउनु उपयुक्त हुँदैन । किनकि चिसो पानीमा धेरैबेर बस्दा रक्तनली साँघुरिन्छ । जसले गर्दा रक्तचाप बढ्न सक्छ ।

त्यति मात्र होइन, चिसोमा शरीरलाई तापक्रम अनुकूल बनाई शरीरमा रक्तप्रवाह सामान्य बनाइराख्न मुटुले थप मेहनत गर्नुपर्छ । यो मुटुका लागि अनावश्यक तनाव हो ।

चिसो पानीले मुटुको धड्कनमा गडबडी ल्याउन सक्छ ।

बाथ

बाथका बिरामीले चिसोबाट बच्नुपर्छ । किनकि चिसो पानीले रक्तसञ्चार कम भई जोर्नी र मांसपेशीलाई कडा बनाएर कमजोर र असहज मात्र बनाउँदैन, दुखाइ पनि बढाउँछ ।

बाथ हुने व्यक्तिको पहिलेबाट नै हातखुट्टा सुन्निएको हुन्छ । चिसो पानीले यसलाई झन् खराब बनाउन सक्छ ।

दम

चिसोले सबैभन्दा बढी च्याप्ने दमका बिरामीलाई हो । चिसो पानीले नुहाउँदा छातीदेखि फोक्सोसम्म चिसो पस्न सक्छ । जसले निमोनिया हुने जोखिम समेत रहन्छ । उनीहरुको श्वासप्रश्वासमा पनि समस्या ल्याउन सक्छ ।

रुघाखोकी

यदि पहिलेबाट नै रुघाखोकीले ग्रस्त भइरहेको अवस्था हो भने त चिसो पानीले नुहाउनु भनेको स्वास्थ्यलाई ठूलो जोखिममा पार्नु हो । यसले शरीरको तापक्रम बिगारेर ज्वरोका साथै निमोनिया र टाइफाइड गराउन सक्छ ।

छालामा समस्या

संवेदनशील छाला भएका व्यक्तिका लागि चिसो पानीले नुहाउनु पनि हानिकारक हुनसक्छ । यस्ता व्यक्तिमा चिसो पानीले नुहाउँदा सोरायसिस, एक्जिमा, सुक्खापन र चिलाउने जस्ता छालासम्बन्धी समस्या बढ्न सक्छन् ।

हाइपोथाराइड

हाइपोथायराइड हुने व्यक्तिको तुलनात्मक रुपमा शरीरको तापक्रम चिसो हुन्छ । किनकि उनीहरुको शरीरले पर्याप्त मात्रामा थायराइड हर्मोन उत्पादन गर्दैन । जसले गर्दा ऊर्जा सञ्चय हुन पाउँदैन । फलस्वरूप शरीरको तापक्रम चिसोमा सन्तुलनमा राख्न कठिन हुन्छ ।

यस्तोमा चिसो पानीलाई उनीहरुको शरीरको तापक्रमले सहन सक्दैन ।

बच्चा र वृद्ध

बच्चा र वृद्ध दुवै उमेर समूहका लागि चिसो पानीले जाडोमा नुहाउनु ठीक होइन । किनकि उनीहरुको प्रतिरोध क्षमता निकै कम हुन्छ । यस्तोमा बाहिरी वातावरण चिसो, शरीर चिसो र पानी पनि चिसो हुँदा तापक्रम असन्तुलन भई रुघाखोकीले सताउँछ ।

गर्भवती महिला

गर्भवती महिलाले चिसो पानीले नुहाउनु हुँदैन । चिसो पानीले नुहाउँदा गर्भमा रहेको शिशुलाई समेत हानि गर्न सक्छ ।

हाइपोथर्मिया हुनसक्छ

मानिसको सामान्य तापक्रम ९८ दशमलव ४ डिग्री फरेनहाइट हुन्छ । यो तापक्रम छिटो छिटो घट्दै गएमा हाइपोथर्मिया भएको भनिन्छ ।

जाडो मौसममा चिसोले छिटो समाउने भनेको वृद्धवृद्धा, बालबालिका र कमजोर व्यक्तिलाई हो । त्यसमा पनि हिमाली क्षेत्रमा र शीतलहर चल्ने ठाउँमा बस्नेहरुले चिसो पानीले नुहाउँदा शरीरको तापक्रम घटेर  हाइपोथर्मिया हुनसक्छ ।

हाइपोथर्मिया भएमा मांसपेशी खुम्चिने, शरीर काँप्ने, हातखुट्टा निलो हुँदै जाने, टाउको दुख्ने, हातखुट्टा कठ्यांग्रिने, रिङ्गटा लाग्ने, बेहोस हुने, बढी भोक लागेको महसुस हुने र सास फेर्न गाह्रो समेत बनाउन सक्छ ।

 मस्तिष्कघात वा हृदयघातको जोखिम

शरीरमा रक्तसञ्चारमाथिदेखि तल अर्थात् टाउकोदेखि खुट्टासम्म हुन्छ । यदि सिधै टाउकोमा चिसो पानी खन्याएर नुहाउँदा मस्तिष्कका मसिना नलीहरू खुम्चिन्छन् । टाउको चिसो हुँदै रक्तसञ्चार प्रभावित हुन्छ । यस्तो अवस्थामा हृदयघात वा मस्तिष्कको नसा फुट्ने जोखिम हुन्छ ।

मनतातो पानी फाइदाजनक

– चाहे गर्मी होस् वा जाडो मनतातो पानीले नुहाउनु फाइदाजनक हुन्छ ।

– मनतातो पानीले नुहाउँदा शरीरको तापक्रममा दखल पर्दैन ।

– चिसो लाग्ने जोखिम रहँदैन ।

– रक्तसञ्चार राम्रो हुन्छ ।

– जोर्नी, मांसपेशी र स्नायु प्रणालीलाई आराम दिन्छ ।

– मृत कोषिका र छालाको सतहमा रहेको फोहोरलाई सजिलै निकाल्छ ।

– तनाव कम गरी ताजा अनुभव गराउँछ ।

ध्यान दिनुपर्ने भनेको अत्यधिक तातो पानीले नुहाउनु हुँदैन । यसले छाला पोल्ने, छाला सुक्खा पार्ने र कपालको जरा कमजोर बनाउँछ । त्यसैले नुहाउनका लागि सुरक्षित र फाइदाजनक भनेको मनतातो पानी नै हो ।

चिसो पानी जाडोयाम डा. अनाम प्याकुरेल

धेरै कमेन्ट गरिएका

डा. अनाम प्याकुरेल
लेखक
डा. अनाम प्याकुरेल
जनरल प्राक्टिसनर

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६४ अध्ययन : एमबीबीएस हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत, बुवाकेयरका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय