+
+

नियमित औषधि सेवन गर्ने ज्येष्ठ नागरिकको तथ्यांक संकलन गर्दै महानगर

काठमाडौं महानगरपालिकाले नियमित औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकहरूको लगत संकलन गर्न सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १८:२०

७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमित औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकहरूको तथ्यांक संकलन गर्न सुरु गरेको छ ।

महानगर अन्तर्गत स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका दीर्घ रोगबाट ग्रसित ज्येष्ठ नागरिकहरूको तथ्यांक संकलन सुरु गरेको हो ।

विभागका अनुसार जेष्ठ नागरिकहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित २२ पुसदेखि परिपत्र गरेर तथ्यांक संकलन गरिरहेको हो ।

‘अहिले विवरण संकलन गरिरहेका छौं, विवरण प्राप्त भएपछि उहाँहरूको स्वास्थ्य प्रवर्द्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ,’ विभागका प्रमुख दिपक केसीले भने ।

विभागले महानगरपालिकाकै पञ्जीकरण शाखाबाट १ साउन २०८१ साउनसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ ।

महानगरका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म १ हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । विवरण प्राप्तमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।

७० कटेका २३ हजार बढी, एक सय वर्ष कटेका ४७ जना

अहिले विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ३७ हजार ६५४ जना छन् । ७० वर्ष उमेर पूरा भएकाको संख्या २३ हजार ७७० जना छ । धेरै उमेर हुनेमा ११० वर्ष उमेरको व्यक्ति रहेका छन् भने १ सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ४७ जना रहेको छ ।

९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका ५ हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?