
काठमाडौं । नारी संवेदनामा बनेको फिल्म ‘द्रौपदी’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । ऋषिराज आचार्यको पटकथा, निर्देशन र संवाद रहेको फिल्ममा कर्णालीको परिवेश र कथा चित्रण गरिएको छ ।
टिजरले फिल्म कर्णाली र स्थानीय महिलाले भोग्नुपर्ने समस्यामा आधारित रहेको झलक दिन्छ । प्रसिद्ध पर्यटकीय थलो शे फोक्सुण्डो ताल लगायतका रमणीय थलोका दृश्य टिजरमा समावेश गरिएको छ ।
१ मिनेट ३७ सेकेन्डको टिजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा बनेको देखिने यस फिल्मले एक मौलिक तथा गम्भीर विषय उठाएको छ ।
फिल्मलाई अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको निर्देशक आचार्यले बताए । आश्विनी शाह शीर्ष भूमिकामा छिन् । रियालिटी शो ‘नेपाल आइडल’ विजेता गायक रवि ओड, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्य स्वयमको अभिनय यसमा छ ।
फिल्मका गीतमा ओड र इन्द्रकला राइको आवाज छ । ऋतु आचार्य र सुबास ठडराई सह-निर्माता हुन् । आरबी मूभिजको ब्यानरमा बनेको फिल्मका निर्माता आचार्य र प्रकाश ज्ञवाली हुन् ।
प्रतिक्रिया 4