+
+

३२ प्रतिशत बढ्यो गाडी आयात, अटो व्यवसाय सुध्रिएको हो ?

चालु आर्थिक वर्ष पहिलो ६ महिनामा ४७ अर्ब ९७ करोड रुपैयाँ बराबरको गाडी आयात भएको छ । यो गत आव सोही अवधिको दाँजामो ३२ प्रतिशत बढी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १९:४७

८ माघ, काठमाडौं । नेपालमा पछिल्लो समय सवारीसाधान आयात उच्चदरले बढेको छ । यो वृद्धिदर हेर्दा नेपालको अटो व्यवसाय सुध्रिँदै गएको मान्न सकिन्छ ।

भन्सार विभागले सोमबार जारी गरेको गाडी आयात तथ्यांक हेर्दा अटो व्यवसायमा उल्लेख्य सुधार भएको मान्नुपर्ने हुन्छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा गत आव सोही अवधिको दाँजामो गाडी आयात ३२ प्रतिशतले बढेको छ ।

चालु आव पहिलो ६ महिनामा ४७ अर्ब ९७ करोड रुपैयाँ बराबरको गाडी आयात भएको भन्सार विभागले जनाएको छ । गत आव पहिलो ६ महिनामा ३६ अर्ब ३२ करोड बराबरको मात्र गाडी आयात भएको थियो ।

आव २०७९/८० मा गाडी आयात ५० प्रतिशतले घटेको थियो । त्यसअघि २०७८/७९ मा १ खर्ब २३ अर्बको आयात भएको थियो । २०७९/८० मा ६१ अर्ब ८० करोडको मात्रै आयात भएको थियो ।

त्यसपछि गत आव २०८०/८१ मा त्यसअघिको वर्षका तुलनामा गाडी आयात केही बढ्यो । त्यो वर्ष अघिल्लो वर्षको तुलनामा गाडी आयात २६ प्रतिशतले बढेर ७८ अर्ब पुगेको थियो ।

तर, २०७८/७९ मा भएको १ खर्ब २३ अर्बको आयात पुग्न भने अझै पनि कठिन देखिन्छ ।

कुल गाडी आयात बढ्दा विद्युतीय सवारीसाधन (ईभी) को पनि आयात बढेको भन्सारको तथ्यांकमा देखिन्छ । चालु आव पुस मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन् । गत आव सोही अवधिमा १२ अर्ब ७३ करोड ३२ लाख बराबर ईभी आयात भएको थियो ।

ईभी आयात तुलनात्मक रूपमा गत वर्षभन्दा बढे पनि पेट्रोलियम इन्जिन गाडी आयात दर यो वर्ष धेरै बढेको देखिन्छ । चालु आव ६ महिनामा ३४ अर्ब ८७ करोड रुपैयाँ बराबर यस्ता गाडी आयात भएको छ । गत आव सोही अवधिमा भने पेट्रोलियम इन्जिन भएका गाडी २३ अर्ब ५९ करोडभन्दा बढीको आयात भएको थियो ।

गत वर्ष पहिलो ६ महिनाको दाँजोमा गाडी आयात बढ्नुलाई अटो व्यवसायमा सुधारको सकरात्मक सन्देशका रूपमा लिएको नाडा अटो मोबाइल एसोसिएसनका उपाध्यक्ष राजनबाबु श्रेष्ठ बताउँछन् ।

‘पेसेन्जर भेहिकल सेग्मेन्टमा पहिलेदेखि नै राम्रो भइरहेको छ । यसबीच पेट्रोलियम इन्जिन गाडी आयात पनि बढ्यो,’ उनले भने, ‘पछिल्लो समय माइक्रोबस आयात पनि बढेको छ । यसले अटो व्यवसायमा सुधारको सकारात्मक सन्देश दिएको छ ।’

उनले केही सुधार देखिए पनि व्यवसायिक सवारीसाधनमा भने सुधार हुन नसकेको बताए । ‘सवारी आयातको कुरा गर्दा कमर्सियल भेहिकलमा सुधार भएको छैन । त्यो चाहिँ बाँकी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?