
काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको आगामी फिचर ‘कोशेढुंगा’मा कलाकारको रोचक लाइनअप तय छ । नीति शाह र प्रवीण खतिवडा पनि अनुबन्धित भएका छन् ।
अभिनेत्री शाह केही साताअघि नै अनुबन्धित भैसकेपनि निर्माताले मंगलबार मात्र उनको कास्टिङ सार्वजनिक गरेका हुन् । यो फिल्ममा यसअघि आर्यन सिग्देल र सुरक्षा पन्त पनि जोडिएको खबर आइसकेको छ ।
‘म सुरुदेखि नै महिलाप्रधान फिल्म गर्न चाहन्थेँ । यसको स्क्रिप्ट मलाई मनपर्यो’ फिल्म साइन गरिसकेपछि अभिनेत्री शाहले अनलाइनखबरसँग भनिन्, ‘महिलाप्रधान फिल्म अझै धेरै बन्नुपर्छजस्तो लाग्छ ।’
‘फिल्म कस्तो हुने, कथा के हो, कलाकार को-को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौं’ निर्देशक पौडेलले भने, ‘पूर्णबहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने फिल्म बनाउने प्रयासमा छौँ ।’
‘कोशेढुंगा’लाई सोसल ड्रामा फिल्म बताइएको छ । फागुन २ गतेदेखि छायांकन हुने फिल्मलाई २०८२ सालमा रिलिज गर्ने तयारी छ । नरदेवी फिल्मसको प्रस्तुति रहने फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी हुनेछ । दिनेश खड्का कार्यकारी निर्माता हुन् । फिल्मको अन्तर्राष्ट्रिय वितरण, ओटीटी र डिजिटल अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको छ ।
प्रतिक्रिया 4