
८ माघ, हुम्ला । सिमकोट बजारबाट दैनिक रूपमा निस्कने ढलको फोहोरले सिमकोट विमानस्थल भलैभल भएको छ । बजारबाट बग्ने ढलको फोहोरले सिमकोट विमानस्थल भलैभल देखिने गरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिहंले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘सिमकोट बजारक्षेत्रबाट निस्कने ढल, प्लास्टिक जन्यवस्तु, खाद्य वस्तुका कारण सिमकोट विमानस्थललाई समस्यामा पारेको छ। हामीलाई फोहोर सफा गर्दागर्दै हैरान बनाएको छ ।’
विमानस्थलका प्रमुख सिंहका अनुसार बजारको फोहोर पहिला जेसीबी/स्काभेटरबाट सरसफाइ गरे पनि दैनिक बजारबाट बगेर आउने फोहोरले सास्ती दिने गरेको छ ।
‘स्थानीय तहले बजारका ढलमा जाली हालेको छैन,’ उनले भने, ‘ जाली हालेको भएपनि प्लास्टिक जन्यवस्तु रोकिन्थयो। तर, जाली नहालेका कारण बजारका फोहोर सिधैं विमानस्थलसम्म आइदिन्छ । यसले विमानस्थल थप मारमा छ।’
विमानस्थलका प्रमुखले ढलले हैरानी दिएको गुनासो गरेपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले विमानस्थल अनुगमन गरेको बताए । उनले भने, ‘ढलले समस्यामा पारेको भनेर गुनासो सुनेपछि मैले विमानस्थल अनुगमन गरे। त्यहाँ त साच्चै फोहोरको समस्या रहेछ।’
फोहोर व्यवस्थापनबारे स्थानीय तहसँग कुराकानी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयको भनाइ छ । ‘मैले स्थानीय तहसँग कुराकानी गरेको छु। गाउँपालिकाका उपाध्यक्ष ज्यू जिल्ला बाहिर भएकोले छलफल हुन पाएको छैन। उहाँ आउने बित्तिकै फोहोर व्यवस्थापन गर्न पहल गर्नेछौं।’ प्रजिअ पाण्डेयले बताए।
विमानस्थलमा ढलको फोहोर थुप्रिएपछि जिल्ला बाहिरबाट आउने अन्तरिक तथा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ। बजार क्षेत्रको ढलबाट निस्कने फोहोरको दुर्गन्धले विमानस्थल गेटदेखि विमानस्थल भित्रसम्मै समस्या बनाएको छ।
स्थानीय तह, स्थानीय प्रशासनले फोहोर व्यवस्थापन गर्न ढिलाइ गरिरहेको नागरिकले गुनासो गर्दै आएका छन्।
प्रतिक्रिया 4