
८ माघ, जनकपुरधाम । प्रत्येक पाँच वर्षमा लाग्ने बाराको प्रसिद्ध गढीमाई मेलाको हरहिसाब अझै सार्वजनिक भएको छैन । मेला सकिएको एक महिनाभन्दा बढी अवधि बित्दा पनि महागढीमाई मेला समितिले हालसम्म हरहिसाब सार्वजनिक नगरेको हो ।
हरहिसाब सार्वजनिक गर्न ढिलाइ र कतिपय उपसमितिले अहिलेसम्म हरहिसाब नदिएपछि अनियमितता भएको हुन सक्ने शंका गर्न थालिएको छ । मेला समितिभित्रकै पदाधिकारीले समेत आरोप लगाउन थालेका छन् ।
१९ मंसिरदेखि सुरु भएको यसपालिको मेला ३ पुससम्म चलेको थियो । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको अध्यक्षतामा १ सय १ सदस्यीय मूल मेला समिति थियो । जसमा २३ उपसमिति थिए ।
मेलाबाट प्राप्त हुने मनोरञ्जन शुल्क, मन्दिरमा चढाइएको नगद तथा सुनको भेटी, जग्गा भाडा, स्टल भाडा, पार्किङ शुल्क, परेवा बिक्री, प्रोजेक्टरबाट प्रचारप्रसार, राँगा बलिबापत लिइने शुल्क लगायत आम्दानी करोडौं रुपैयाँ आम्दानी हुने गर्छ । आम्दानी तथा व्यवस्थापनका लागि मेला समितिले २३ उपसमिति गठन गरेको थियो ।
मेला समिति अध्यक्ष तथा मेयर यादवका अनुसार यसपालि मेलामा ८ हजार ६ सय राँगा बलि दिइएको छ । करिब १ करोड ५० लाख मानिसले मेला भरेको अनुमान छ ।
उपसमितिहरूले मेला सकिए लगत्तै बैंक खातामा आम्दानी जम्मा गर्नुपर्ने प्रावधान छ । मेला समितिले त्यसलगत्तै हरहिसाब सार्वजनिक गर्ने परम्परा रहेको महागढीमाई नगरपालिका–१ का अध्यक्ष प्रदीपकुमार गुप्ताले बताए ।
तर, अहिलेसम्म कतिपय उपसमितिले हरहिसाब मेलासमितिको खातामा जम्मा गरेका छैनन् ।
महेश जयसवालको नेतृत्वमा रहेको मेला भेटी उपसमितिले बैंकको खातामा रकम जम्मा गरिसकेको छ । भेटीमा परेको नगद १ करोड १० लाख रुपैयाँ बराबर बैंक दाखिला गरेको संयोजक जयसवालले बताए । उनका अनुसार भेटीमा चढेको करिब ४० लाख बराबर सुनचाँदीको गरगहना छ ।
मेला समिति कोषाध्यक्ष वीरेन्द्र चौरसियाले भेटी समितिले रकम बैंक दाखिला गरेको बताए । उनका अनुसार मनोरञ्जन उपसमितिले पनि १ करोड २० लाख जति आम्दानी बुझाएको र थप आउन बाँकी छ । पार्किङको १३ लाखमा ठेक्का नै लागेको थियो । राँगा बलिबापत शुल्क, जग्गा भाडा, स्टल, परेवा बिक्री, प्रोजेक्टरबाट भएको प्रचारप्रसार लगायत आम्दानी उपसमितिहरूले अझै खातामा जम्मा नगरेको कोषाध्यक्ष चौरसियाले बताए । आम्दानी बैंकमा जम्मा गर्न दुई पटक पत्र पठाएर ताकेता गरिएको छ ।
‘केही उपसमितिले अझै आम्दानी बुझाएका छैनन् । दुई पटक सात–सातदिने पत्र पठाएर ताकेता गरेका छौं । बोधार्थ जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको छ । अब दिएन भने कानुनतः असुल उपर गर्ने प्रक्रियामा जान्छौं,’ उनले भने ।
अहिलेसम्म हरहिसाब नबुझाउनुको कारण अनियमितता गर्न खोजेको भन्ने आफूलाई लागेको कोषाध्यक्ष चौरसियाको भनाइ छ ।
‘अहिलेसम्म हरहिसाब नबुझाउनुको कारण हिसाब घोटाला गर्ने मनसाय होला । खाने विचार होला । हिसाब तलमाथि गर्ने त होला नि !,’ उनले शंका गरे, ‘आइसकेको आम्दानी भने अब चाँडै समितिले सार्वजनिक गर्ने छ ।’
२०७६ सालदेखि र त्यसअघिको तीन पटक मेला समिति महासचिव रहिसकेका मोतिलाल कुशवाहा मेला सकिए लगत्तै हरहिसाब सार्वजनिक गर्ने परम्परा रहेको बताउँछन् ।
‘विगतमा मेला सकिए लगत्तै हरहिसाब सार्वजनिक गर्ने परम्परा थियो । तर, यसपालि समयमै सार्वजनिक भएन । विभिन्न टिकाटिप्पणी भइरहेको छ,’ उनले भने ।
मेला उपसमिति उपाध्यक्ष समेत रहेका वडाध्यक्ष गुप्ताले अनियमितता गर्न खोजिएकाले समयमै हरहिसाब पारदर्शी गर्न नचाहेको आरोप लगाए ।
‘समितिले अहिलेसम्म हरहिसाब सार्वजनिक गरेको छैन । मेला समितिका अध्यक्षले नै तोकेका कतिपय उपसमितिले हरहिसाब बुझाएका छैनन् । अनियमितता गर्न खोजेको प्रष्ट देखिन्छ,’ उनले आरोप लगाए ।
तर, मेला समिति अध्यक्ष समेत रहेका मेयर यादव केही उपसमितिले समयमा हिसाब नबुझाउँदा पारदर्शी गर्न ढिलाइ भएको बताउँछन् ।
‘मेला सकिएपछि पुस १५ भित्र नै हरहिसाब सार्वजनिक गर्ने लक्ष्य थियो । तर, कतिपय उपसमितिले हिसाब दिएन । तब माघ १ गते मेला आइहाल्यो ३/४ दिनसम्म मेला नै लाग्छ । अब २०–२५ गतेभित्र हामी हरहिसाब पारदर्शी गर्छौं,’ उनले भने ।
गत बिहीबार मन्दिरबाट परेवा लुट्ने क्रममा भएको विवाद समेत भएको थियो । त्यस क्रममा परेवा समितिले हरहिसाब नदिएको र विवाद समाधान गर्न बाँकी रहेको उनको भनाइ छ ।
मेयर यादवका अनुसार वडाध्यक्ष गुप्तालाई मेला समिति उपाध्यक्षबाट मेलाअघि नै निष्कासन गरिएको थियो ।
प्रतिक्रिया 4