
८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रिन्सिपल छनोट पहिलो पटक प्रकासित सूचनाबाट नै हुने भएको छ ।
प्रिन्सिपल नियुक्तिका लागि आवेदन माग गरिएकोमा थोरै संख्यामा मात्र आवेदन आएपछि शिक्षाध्यक्षको कार्यालयले दोस्रो पटक आवेदन माग गरेको थियो । तर, विवाद भएपछि शिक्षाध्यक्ष कार्यालयले पहिलो आवेदनबाट नै छनोट गर्ने निर्णय गरेको हो ।
शिक्षाध्यक्ष कार्यालय स्रोतका अनुसार पहिलोपटक दुईजनाको मात्र आवेदन परेको थियो । कार्यविधिमा छनोट समितिले नाम सिफारिस गर्दा तीनजनाको नाम सिफारिस गर्ने भनिएको छ ।
तर, तीनजनाभन्दा कमको आवेदन परेमा के गर्ने भनेर कार्यविधिमा उल्लेख नभएकाले शिक्षाध्यक्ष कार्यालयले दोस्रो पटक आवेदन माग गरेको हो । विवाद भएपछि पहिलो आवेदनमा जति जनाको आवेदन आएको छ त्यति जनाको नाम छनोट समितिले सिफारिस गर्ने भएको छ ।
‘दोस्रो पटक आवेदनका लागि आह्वान गरेको सूचना खारेज हुन्छ । पहिलो आवेदनमा आएको नामलाई नै छनोट समितिले मूल्याङ्न गरेर पठाउँछ,’ शिक्षाध्यक्ष प्राडा खड्ग केसीले भने ।
२८ पुसमा पहिलो पटक सात दिनको समय दिएर प्रिन्सिपलका लागि आवेदन माग गरिएको थियो । दोस्रो पटक ७ माघमा आवेदन माग गरिएको थियो । प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल आगामी १९ माघमा सकिँदै छ । त्यसैले नयाँ प्रिन्पिल नियुक्ति गर्न लागिएको हो ।
प्रतिक्रिया 4