
काठमाडौं । निर्देशक दिनेश राउतले मंगलबारदेखि आफ्नो प्रतीक्षित कथानक फिल्म ‘महाभोज’को छायांकन थालेका छन् । ४५ दिनको तालिकासहित पोखराको घाचोकमा छायांकन सुरु भएको हो ।
पहिलो दृश्य अभिनेताद्वय खगेन्द्र लामिछाने र मोहन निरौलाको खिचिएको छ । निर्देशक राउतले आठौँ निर्देशकीय फिचरको रूपमा काम गरिरहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गर्नेछन् ।
आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय यसमा हुनेछ ।
सर्वसाधारणको जीवन र भरोसामाथि खेलवाड गर्नेविरुद्धको कथा यसमा समावेश गरिने बताइएको छ । निर्देशक राउतले समाजमा ब्याप्त विश्वासघात र भ्रष्टाचारविरुद्धको कथामा ‘महाभोज’ बनाइरहेको जनाए ।
फिल्ममार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता र सामाजिक जागरणको महत्व दर्शाउन प्रयास गर्ने राउतले बताए ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त निर्माण गर्दैछन् । कार्यकारी निर्मातामा किरण नेपाली र सुदीप ढकाल छन् । विकास सुवेदीले पटकथा लेखेका हुन् । राजेश श्रेष्ठ छायांकार हुन् ।
प्रतिक्रिया 4