
८ माघ, काठमाडौं । सरकारले हिमाल आरोहण रोयल्टी (दस्तुर) बढाएको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट पर्वतारोहण नियमावली स्वीकृत भएको छ । जसले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ लाई प्रतिस्थापन गर्ने छ ।
पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीका अनुसार सोही नियमावलीले वसन्त ऋतु (चैत–वैशाख) मा ११ हजार अमेरिकी डलर रहेको सगरमाथा आरोहण रोयल्टी वृद्धि गरी १५ हजार डलर पुर्याएको छ । यो विदेशी पर्यटकलाई तोकिएको रोयल्टी हो ।
‘दस्तुर रकमलाई हामीले प्राथमिकता दिएका छैनौं,’ उनी भन्छन्, ‘सगरमाथासहित हिमाल आरोहण हरसम्भव सुरक्षित बनाउने गरी नियमावली आएको छ ।’
२०५९ मा आएको नियमावली अहिलेसम्म चार पटक संशोधन भइसकेको छ ।
महानिर्देशक डा. रेग्मीका अनुसार ८ हजारभन्दा अग्ला हिमाल चढ्न लाग्ने दस्तुर बढी दरले वृद्धि भएको छ भने अन्य हिमालमा समेत दस्तुर बढेको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउने छ ।
‘नियमावली पुरानो भइसकेको थियो,’ उनी भन्छन्, ‘समेट्नु पर्ने धेरै विषय आएका थिए, त्यसकारण सरकारले नयाँ नियमावली बनाएको हो ।’
यस पटक विशेषगरी तीन पक्षमा बढी ध्यान दिएर नियमावली बनाइएको उनले बताए । ‘हिमाल आरोहण कम जोखिमयुक्त बनाउने, आरोहण व्यवस्थित गर्ने र जलवायु परिवर्तनका चुनौतीबाट हाम्रा सम्पदा जोगाउने गरी नियमावली बनेको छ,’ उनले भने ।
संरक्षण अभियन्ताहरूले हिमालमा भीडभाड अधिक भएको र सगरमाथा सस्तो गन्तव्य बनाइएको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका थिए । यससँगै नेपाली नागरिकका हकमा समेत दस्तुर बढेको छ ।
नयाँ नियमावलीले माउन्टेन गाइड अनिवार्य गर्ने, सम्पर्क अधिकृतलाई अझ बढी जिम्मेवार बनाउने लक्ष्यसमेत लिएको उनले जानकारी दिए । हिमाल आरोहण अनुमति अवधि घटाउने, हिमालमा काममा खट्ने कामदारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने र सगरमाथालाई मानव फोहोरमुक्त बनाउन समेत नियमावलीले प्रयास गरेको विभागको भनाइ छ ।
गत वर्ष स्थानीय सरकार (खुम्बु पासाङल्हामु गाउँपालिका) को प्रयासमा हिमाल सफा राख्न विभिन्न मापदण्ड तोकिएका थिए । तर, प्रभावकारी अनुगमन नहुँदा कार्यान्वयन फितलो भएको गुनासो आएको थियो ।
गाउँपालिकाले मानव मलमुत्र फिर्ता ल्याउन ‘बायोडिग्रेडेबल’ थैली प्रयोगमा जोड दिएको थियो । यसलाई अब नियमावलीबाटै व्यवस्थित गर्न खोजिएको छ । यस्ता झोला प्रयोग सगरमाथा बाहेक अन्य हिमालमा समेत अब अनिवार्य गर्न लागिएको छ ।
नेपालमा ४ सय ६१ हिमाल आरोहणमा खुला भएका छन् । यसमध्ये केही हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गर्दै आएको छ । खुला गरिएको भए पनि ६८ हिमालमा भने अझै पनि मानव पाइला पुग्न सकेको छैन ।
एकातर्फ सीमित हिमालमा मात्र आरोही झुम्मिने र अर्कातर्फ धेरै हिमालमा त्यहाँसम्म पुग्ने आधारभूत बाटो समेत पुग्न नसक्दा आरोहण नै सुरु हुन नसकेको अवस्था छ ।
प्रतिक्रिया 4