+
+
हर्क साम्पाङ :

आधा भरि गाग्रो धरानमै छाडे, रित्तो बोकेर काठमाडौं आए

आफू धरान मेयर बन्नु पहिल्यै बनाइएका योजनालाई गति दिनु साटो हर्क साम्पाङले बाटो नै बदले, मतदाता बिच्किन थालेपछि अपजस छल्न रित्तो गाग्रो बोकेर काठमाडौं आए ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ माघ ८ गते २२:२०

८ माघ, काठमाडौं । चर्चा हर्क साम्पाङका पछिल्तिर कुद्छ कि उनी चर्चाका पछिल्तिर कुद्छन्, उनै जानुन् । तर कहिले खानेपानीका लागि श्रमदान मागेर, कहिले गितारमा औसत संगीत रच्दै विपक्षी ललकारेर, कहिले पत्रकारलाई धम्क्याएर, कहिले टाढा-टाढासम्म भोट माग्न कुदेर-हर्क फेसबुक, युट्युब, टिकटक अल्गोरिदमलाई आफ्नो वरिपरि खिचिरहन्छन् ।

उनको यस्तो काम मंगलबार दिउँसोसम्मै जारी छ । नहोस् पनि किन, जब देशका ११ उपमहानगरमध्येका एक मेयर रित्तो गाग्रो बोकेर संघीय राजधानीको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार दैलोसम्म पुगेका छन् ।

दसकौंदेखिको धराने तिर्खालाई संकेतमा बताउन मेयर हर्कले ल्याएको कुच्चिएको रित्तो गाग्री प्रहरीले सिंहदरबार गेटमा खोसेको थियो । ‘मैले विरोध गर्न आएको होइन, खानेपानी नदिएको भएर सरकारलाई मायाको चिनो ल्याइदिएको हो,’ हर्कले प्रहरीलाई भनेका थिए, ‘तपाईंहरूसँग म बहस गर्दिनँ । यो गाग्री तपाईंहरूले सुरक्षित राख्नुस्, सरकारलाई बुझाइदिनुस् ।’

गाग्रो सुरक्षित राखिदिने भन्दै नम्र भाषामा प्रहरीले सम्झाएपछि मेयर हर्क गाग्रोबिनै सिंहदरबार छिरेका थिए ।

हर्कले बोकिल्याएको गाग्रोले दिने सन्देश जति स्पष्ट छ, राष्ट्रलाई यसअघि नै थाहा छ कि, धरानको खानेपानी समस्या धरानको मात्रै एक्लो दुःख होइन । र यो पछिल्ला दिनमा सिर्जित समस्या होइन ।

त्यसैले संघीय सरकारसमेतले यसका लागि योजना बनाएको थियो । यो हर्क धरान उपमहानगरपालिकाका मेयर चुनिनुभन्दा पहिलेकै कुरा हो ।

शहरी विकास मन्त्रालयले धरान लगायत विभिन्न शहरको खानेपानी समस्या समाधान गर्न खानेपानी मन्त्रालय लगायत अरु सरकारी अंगहरूसँग मिलेर आफ्ना योजनाहरू बनाइरहेको थियो । तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ०७८ चैतमा धरानको खानेपानी समस्या र समाधानबारे अध्ययन गर्न ‘धरान खानेपानी आयोजनाको निरीक्षण समिति’ बनाएकी थिइन् । मन्त्रालयका प्राविधिकतर्फका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठले यसको नेतृत्व गरेका थिए, जसमा विभिन्न सम्बन्धित मन्त्रालय, विभाग, अनि धरानका खानेपानी, भवन लगायत क्षेत्रसँग सम्बन्धित सरकारी प्रतिनिधि सामेल थिए ।

त्यसअघि नै शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले ३५ प्रतिशत, उपमहानगरले १५ प्रतिशत लागत जुटाउने, बाँकी ५० प्रतिशत लागत एसियाली विकास बैंकको अनुदानमार्फत् प्राप्त गर्ने योजना बनिसकेको थियो । ०६८ देखि ०७३ सालसम्म त्यस योजनाले काम गर्‍यो । बाँकी काम अर्थात् पाइपलाइन बिछ्याउने, गेटवे खोल्ने लगायत काम अघि बढ्दै थियो ।

त्यसबीचमा संघीयता कार्यान्वयन अन्तर्गत खानेपानी लगायत अधिकारमा स्थानीय तह निर्णायक रहन गयो । धरान खानेपानी बोर्ड ०७६ मा बन्यो, जसले पुरानो प्रोजेक्ट सकिए पनि एकीकृत शहरी विकास परियोजना अन्तर्गत खानेपानी समस्या समाधानका बाँकी काम अघि बढाउने भयो ।

त्यसबीचमा धरानमा विवाद सुरु भयो, चुरेबाट पानी आइपुग्छ भनेर कुर्ने कि डिप बोरिङबाट पानी तानेर तत्कालै समाधान खोज्ने ?

विवादकै कारण संघीय सरकारले थालेको कार्यक्रम आधा सकिएर त्यसभन्दा अघि बढ्न सकिरहेको थिएन । ०७९ को स्थानीय चुनाव आउँदै थियो । यसै पनि दलहरूका लागि धरानको खानेपानी समस्या आकर्षक चुनावी नारा बन्दै थियो । त्यसको पाँच वर्षअघि ०७४ मा उपमहानगर जितेर पनि पानी ल्याउन नसकेको भन्नेमा विभिन्न दलसँगै स्वतन्त्र उम्मेदवार हर्क पनि थिए ।

हर्कले गरेको खानेपानीको संकल्प यति अर्गानिक र भुइँतहमैत्री थियो कि, सुरु–सुरुमा उनको शैलीप्रति छक्क परेर हेर्ने मतदाता नै उनलाई पत्याउने, अनि विगतका दलहरूलाई पन्छाएर नयाँ प्रयोग गरिहेर्ने मुडमा उभिए । नतिजा, हर्कले कांग्रेस, एमालेजस्ता शक्तिशाली दलहरूका उम्मेदवार हराएर फ्याट्ट मेयर जितिदिए ।

उनले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय मिलाउँदै विगतका कार्ययोजनाको प्रगति बुझ्ने, त्यसलाई व्यवस्थित ढंगबाट गति प्रदान गर्ने बाटो रोजेनन् । बरु लोकप्रियतावादी सर्टकट रोजे ।

हर्कले राम्रो के गरे भने, श्रमसंस्कृतिलाई हाम्रो मौलिक संस्कार मानेर देश–देशावरका नेपालीलाई दसनंग्रा खियाउन, ढुंगा बोक्न, रुखबिरुवा रोप्न अभियान नै चलाए । माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री प्रचण्डले त हौसिएर हर्कलाई गणतन्त्रको बगैंचामा हुर्केका सुन्दर फूलकै संज्ञा दिन भ्याए ।

प्रचण्डको हौसिने क्रम रोकिएन । उनी धरान नै पुगेर हर्कको श्रम अभियानमा जोडिए ।

पछि के–केमा चित्त नबुझेर हर्कले कार्यालयबाट प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर नै हटाएर सुम्निमा पारुहाङको तस्बिर राखे । त्यसअघि उनी पार्टी प्यालेस बनाउन भनेर छुट्याएको भवनमा क्रिश्चियन चर्च बनाउन दिएको भन्दै विवादमा तानिएका थिए ।

हर्कले सिंहदरबारसँग खानेपानीको बारेमा कुराकानी गरे, तर त्यसलाई योजनाबद्ध ढंगले अघि बढाउन ठोस संस्थागत पहल लिएनन् । विगतमा शहरी विकास मन्त्रालयले गरेका काम उनले बिर्सिसकेका थिए ।

ठूला विवादलाई त्योभन्दा ठूला विवाद खडा गरेर बिर्साउने पुरानो वामपन्थी राजनीतिक फर्मुला अपनाएर हर्कले आफ्नो छवि जोगाउन उपाय लगाए ।

त्यस बीचमा उनले नगरको अभिभावकका रुपमा सबैलाई जोड्ने अभिभारा पूरा गर्नुसाटो अक्सर फेसबुके क्रिया–प्रतिक्रियामा ओर्लिए । गितारमा कामचलाउ संगीत रचेर विपक्षीलाई चुनौती दिए ।

पत्रकारलाई ज्यानको धम्की दिए । उपचुनावहरूमा इलामदेखि कीर्तिपुरसम्म गएर विभिन्न उम्मेदवारका पक्षमा घरदैलो गरे । परिणाम आए या नआए पनि हर्क चर्चाभन्दा टाढा रहेनन् ।

यिनै हर्कले २० चैत २०७९ मा काठमाडौं आएर तत्कालीन योजना आयोग उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठसँग भेटेका थिए ।

उनले श्रेष्ठसँग कोशी नदीबाट धरानमा खानेपानी ल्याउने योजना बनाउन माग गरेका थिए । तर श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन अनुसार मात्र बजेट खर्च गर्नुपर्ने सुनाएका थिए ।

जवाफमा मेयर हर्कले आयोगका उपाध्यक्षलाई ठा–ठाडो भाषामा भनेका थिए, ‘तपाईं योजनाप्रति सकारात्मक भइदिनुस्, हामी पनि सकारात्मक हुन्छौं । यो फेरि हाम्रो जबर्जस्ती पनि हो । खानेपानी मन्त्रालयले धरानको योजनालाई बजेट दिएन भने म आफैं धर्ना बस्न आउँछु पनि भनेको छु । सरकारले नाथे खानेपानी पनि दिन सक्दैन भने किन सरकार गठन गरिराख्नु?’

हर्कले त्यस बेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना सुनाएका थिए । उनले तत्कालीन शहरी विकासमन्त्री सीता गुरुङ पनि भेटेका थिए ।

उनका ती सबै भेटको मजबुन धरानमा पानी ल्याउने नै थियो ।

हर्कले सिंहदरबारसँग खानेपानीको बारेमा कुराकानी गरे, तर त्यसलाई योजनाबद्ध ढंगले अघि बढाउन ठोस संस्थागत पहल लिएनन् । विगतमा शहरी विकास मन्त्रालयले गरेका काम उनले बिर्सिसकेका थिए । दसनंग्रा खियाएर जनताले एकजुट भई काम गरे कसो विकास नहोला, उनी यस्तै आह्वान कहिले भाषण, कहिले फेसबुके गीतकविता आदिबाट गर्दैरहे ।

यसरी श्रमदान गर्ने अभियान सञ्चालन गरेर उनले १० भन्दा बढि साना ठूला खोलाहरूबाट धरानमा पानी झार्ने प्रयास गरे । ३० जेठ २०८० मा धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झार्न सफल भएका थिए । उनी स्वच्छन्द भावमा पाइपको पानीमा भिजेको देखेर रास्वपा सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले पनि त्यस्तै सिको गरेर खोल्साबाट तानेको पानीमा भिजिहेरे । हर्क र रविका दुवै फोटो भाइरल भए ।

यद्यपि धरानमा हर्कको मेहनत भने सामान्य खालको थिएन । उनी दुई चार दिनको लहडबाजीमा मात्रै थिएनन् भन्ने पर्नेगरी लामो समय भिडेका थिए । पकुवामा झारिएको उक्त पानी श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर ल्याइएको थियो । मेयर हर्कका सचिवालय सदस्य रसिक थेबेका अनुसार विष्णुपादुकाको शीरबाट पहाड र भीरको बाटो पाइप उचाल्दै ९८ दिनमा पकुवामा खानेपानी झारिएको थियो ।

हर्कले सुरु गरेको श्रम अभियानबाट कोकाँहा भन्दा अगाडि पकुवा, सर्दु–खुर्द, निशाने खोला, तामाखान, भालु खोलाको मुहानमा ट्यांकी बनाएर पाइप जोडिएको थियो । तर प्राविधिक अध्ययन बिना ल्याइएका अधिकांश श्रमदानबाट निर्माण भएका खानेपानी सफल हुन सकेको छैन ।

उनी सिंहदरबारमा रित्तो गाग्री लिएर आउनुभन्दा अगाडि आफ्नै पालिका अर्थात् धरानको भानु चोकमा रित्तो गाग्री बोकेर आन्दोलन थालनी गरेको उद्घोष गरेका थिए । २ दिन अगाडि अर्थात् ६ माघमा यस्तो घोषणा गरेका मेयर हर्क अहिले सिंहदरबारमा दबाब दिन भन्दै आएका हुन् ।

आँट, लहड र इच्छाशक्ति सबैथोक हुँदा पनि व्यवस्थित र दीर्घकालीन योजना नहुँदा, अनि पहिलेदेखि नै जारी योजनालाई ईखको भावनाले पन्छाउने हुँदा आज हर्क चर्चाकै पछिल्तिर कुदिरहेका छन् । तर धरान भने पानी पाउने अभिलाषाभन्दा झन् झन् टाढा पुग्ने सम्भावना छ ।

‘खानेपानीकै लागि संघर्ष गरेर उहाँ नेतृत्वमा आउनु भएको मान्छे हो, मेयर भएपछि खोला खोल्सीबाट सर्दु खर्दु निसाने, पकुवादेखि कोकाह खोलासम्मको पानीलाई पाइपबाट ल्याउनु भयो, यो प्रयासले अलिकति भए पनि स्रोत त आएको छ,’ नागरिक अगुवा राजेन्द्र शर्माले भने, ‘तर धरानलाई त्यो पानी पर्याप्त हुँदैन ।’

यसरी हर्कले पानी माग्न काठमाडौं आएको २ वर्ष पुग्न लाग्यो । उनी सोही भनाई दोहोर्‍याएर सिंहदरबार धाउँदै छन् । तर पहिले भन्दा अहिले उनको शैली फरक छ । यसपालि उनी धरानबाटै रित्तो थोत्रो गाग्री बोकेर आएका छन् ।

उनी सिंहदरबारमा रित्तो गाग्री लिएर आउनुभन्दा अगाडि आफ्नै पालिका अर्थात् धरानको भानु चोकमा रित्तो गाग्री बोकेर आन्दोलन थालनी गरेको उद्घोष गरेका थिए । २ दिन अगाडि अर्थात् ६ माघमा यस्तो घोषणा गरेका मेयर हर्क अहिले सिंहदरबारमा दबाब दिन भन्दै आएका हुन् ।

भानुचोकबाट रित्तो गाग्री सहित उनले भनेका थिए, ‘धरानको खानेपानीको समस्यामा संघ सरकारले हेरेर अब पनि सुनेन भने रित्तो त्यो पनि थोत्रो गाग्री बोकेर एक्लै आउँछु ।’ उनले भनेकै जसरी सिंहदरबार आइपुगेका हुन् ।

हर्कलेले सोमबार त्रिभुवन विमानस्थलबाट ओर्लने वित्तिकै गाग्री उचालेर पत्रकार, युट्युबरहरूलाई देखाए । त्यसपछि उनी आज विहानैबाट सिंहदरबार वरिपरि घुमिरहे । सिंहदरबार छिर्नु अघि गाडीबाट सामाजिक सञ्जाल फेसबुकमा लाइभमा बोल्दै भनेका छन् ‘चिटिक्क परेर है, दरबारतिर जाँदै छौं । धराने जनताको समस्या लिएर आउँदै छु ।’

उनले आफ्नो कार्यकालमा जसरी पनि धरानका स्थानीयलाई पानी खुवाउने वाचा गर्दै पछिसम्मका लागि सोच्दै आफू सिंहदरबार आएको बताए ।

मेयर हर्कले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर आफ्ना समस्या राखेका थिए, जसमा अर्थ र खानेपानीबाट सकारात्मक कुरा आएको सञ्चारकर्मीलाई बताएका थिए ।

उनले भेटघाट सक्किने वित्तिकै सामाजिक सञ्जाल र मिडियामार्फत आफ्नो धारणा राखेका थिए । ‘बजेट सुनिश्चितता गरिदिनुपर्छ भनेका छौं,’ मेयर हर्कले भने, ‘उहाँहरूले सप्तकोशीको पानीको प्रोजेक्ट अघि बढाउँछौं भन्नुभएको छ ।’ उनले अघि भने, ‘डीपीआर ५ अर्बको कुरा छ । उहाँहरू सकारात्मक हुनुहुन्छ ।’

मेयर हर्कले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भेट्न नपाएका हुन् । हर्कले प्रधानमन्त्रीको समय नपाएपछि फेसबुकमा उत्तेजित हुँदै लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन् मलाई ।’

तर यता, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री ज्यूको आज उहाँ (हर्कराज हर्क)सँग भेटघाटको कार्यक्रम नै तय भएको थिएन । प्रधानमन्त्रीको आज त बिहानैदेखि भेटघाट कार्यक्रम सेड्युल टाइट थियो । त्यसकारण पनि भेट हुन सकेन ।’

धरानको खानेपानीबारे प्रत्यक्ष सरोकार राख्दै योजना बनाउन संलग्न रहेकी पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्री हर्कको शैलीलाई सार्थक र दीर्घकालीन नतिजा नखोज्ने, बरु क्षणिक लोकप्रियताको न्यानोमा रमाउन खोज्ने प्रवृत्ति भन्दै आलोचना गर्छिन् । उनी हर्कको असावधानीका कारण विगतमा भएका योजना खेर गएकामा थकथक पनि मान्छिन् ।

‘पानीको समस्या समाधान होला भनेर धराने जनताले हर्कलाई भोट हाले, तर उहाँ सही बाटो हिँड्नुभएन,’ झाँक्री भन्छिन्, ‘संघीय सरकारले गाग्रीभरि प्रोजेक्ट दिँदा उहाँले अगाडि बढाउन मान्नुभएन, अहिले रित्तो गाग्री बोकेर सिंहदरबार आइराख्नुपरेको छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?