९ माघ, काठमाडौं । विकेटकिपरको काम आफ्नो टिमले फिल्डिङ गर्दा स्टम्प पछि बसेर विपक्षी खेलाडीको क्याच गर्ने, स्टम्प गर्नु हो । तर कहिलेकाही अवस्था यस्तो आइदिन्छ कि विकेटकिपिङ गरिरहेको खेलाडीले बलिङ पनि गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय क्लब क्रिकेटमा पनि यस्तो अवस्था हामीले देखिसकेका छौ । अहिले धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि यस्तै दृश्य देखियो ।
बागमती प्रदेशकी कप्तान कञ्चन श्रेष्ठले टिमको नेतृत्वदेखि ओपनिङ ब्याटिङ गर्ने, विकेटकिपिङ गर्नेदेखि लिएर बलिङ गर्नेसम्मको सबै काम गरिरहेकी छन् । अब रमाइलो त के भने उनी एकै खेलमा यी सबै भूमिकामा देखिन भ्याउँछिन् ।
कप्तान बनेर टिमको नेतृत्व गर्छिन्, ब्याटिङमा ओपनिङ गर्छिन्, कहिले वान डाउनमा आउँछिन्, फिल्डिङ गर्दा सुरुमा विकेटकिपिङ गर्छिन् अनी केही ओभरपछि आफैँ बलिङमा आउँछिन् र विपक्षीको विकेट पनि लिन्छिन् । उनी यसरी एकै खेलमा धेरै भूमिकामा देखिएकी छन् । जुन रमाइलो संयोग समेत हो ।
बागमतीलाई समूह बी मा दुई खेल जिताएर सुपर फोरमा पुर्याउँदा कप्तान कञ्चनले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । एकै खेलमा सम्पूर्ण भूमिकामा रहेर पनि कञ्चनले उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । कञ्चनले टिमको आवश्यकता अनुसार नै आफूले सबैखाले भूमिका खेलेको बताइन् ।
किन आयो यस्तो अवस्था?
क्रिकेट खेलमा एक टिममा ११ जना खेल्छन् । जसमा ब्याटर, विकेटकिपर र बलरलाई आ-आफ्नो जिम्मेवारी दिइएको हुन्छ । कोही खेलाडी फिल्डिङमा पनि पनि उत्कृष्ट हुन्छन् ।
तर कप्तान कञ्चनले एकभन्दा बढी भूमिका एकै खेलमा निर्वाह गरिरहेकी छिन् । पहिलो खेलमा कोशी प्रदेशविरूद्ध ब्याटिङ मात्र गरेपनि कञ्चनले त्रिभुवन आर्मी र मधेश प्रदेशविरूद्ध भने एकै खेलमा विकेटकिपिङ र बलिङ गरिन् । आखिर किन आयो त यस्तो अवस्था ?
कञ्चन विकेटकिपर ब्याटर भएपनि टिमलाई आवश्यकता परेकोले बलिङ पनि गरेको बताइन् । ‘हाम्रो टिममा मुख्य बलरहरु छैनन् । त्यसैले जिम्मेवारी लिएर मैले बलिङ गरेको हो’ कञ्चनले अनलाइनखबरसँग भनिन्, ‘मेरो रोल विकेटकिपर ब्याटर नै हो । तर अहिले टिमको आवश्यकता भएकोले मैले बलिङ गरिरहेको छु ।’
यसअघि बागमतीबाट खेल्दै आएका बलरहरु अस्मिना कर्माचार्य र खुशी डंगोल दुवै टिममा छैनन् । उनीहरु चोटका कारण टिममा नभएको कञ्चनले बताइन् । यस्तै युवा अलराउण्डर सोनी पाख्रिन पनि यू१९ महिला टी२० एसिया कप खेल्न मलेसिया छिन् । त्यसैले पनि कञ्चनको काँधमा जिम्मेवारी आएको हो ।
आफूले पाएको जिम्मेवारी राम्रोसँग पूरा गर्दै टिमलाई जिताउँदा कञ्चन खुशी छिन् । ‘एकदमै खुशी लाग्छ । टिमको जितमा आफूले योगदान दिन पाउँदा खुशी छु’ उनले भनिन् ।
आर्मीविरूद्ध ९ ओभरसम्म विकेटकिपिङ गरेकी कञ्चनले त्यसपछि २ ओभर बलिङ गरेकी थिइन् र २ विकेट पनि लिइन् । यस्तै समूहको अन्तिम खेलमा मधेशविरूद्ध उनले सुरुवाती ८ ओभर विकेटकिपिङ सम्हालिन् । जतिबेला मधेशले २ विकेट मात्र गुमाएको थियो । त्यसपछि कप्तान कञ्चनले ग्लोभ्स छाडेर आफैँ बलिङमा आइन र लगातार विकेट लिइन् ।
उनले ४ विकेट लिएर मधेशको मिडल अर्डर ध्वस्त पारिन् । ४ ओभर पूरै बलिङ गरेकी उनले १२ रन मात्र खर्चेर ४ विकेट लिएपछि मधेश १५.५ ओभरमा ४० रनमै अलआउट भएको थियो ।
त्यसपछि बागमतीले ६.४ ओभरमै ३ विकेट गुमाएर ४४ रन बनाउँदै लक्ष्य पूरा गरेर सुपर फोरमा स्थान बनाएको हो । ओपनिङ गरेकी कञ्चन ९ रनमा रनआउट भएपनि यशुले १९ रन बनाउँदै जितसम्म पुर्याइन् ।
समूह चरणमा कञ्चनको प्रदर्शन
समूह चरणमा बागमतीले ३ मध्ये २ खेल जित्दै समूह बी को उपविजेताको रुपमा सुपर फोरमा पुग्दा उनै कञ्चन नायक रहिन् । पहिलो खेलमा कोशी प्रदेशसँग पराजित भएपनि त्यसपछि त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशलाई हराउँदै बागमतीले सुपर फोर यात्रा तय गरेको हो ।
आर्मी र मधेशलाई हराउँदा अलराउण्ड प्रदर्शन गरेकी कञ्चन नै प्लेअर अफ दि म्याच घोषित भइन् । ३ खेलमा कूल ३८ रन बनाएकी कञ्चनले बलिङमा ६ विकेट लिएकी छिन् ।
पहिलो खेलमा कोशी विरुद्ध ५ रनमै आउट भएकी उनले बलिङ गरिनन् । १३ ओभरमा छोट्याएको खेलमा ६४ रनको लक्ष्य पछ्याएको बागमती ५३ रनमा अलआउट भएको थियो ।
दोस्रो खेलमा आर्मी विरूद्ध कञ्चनले अलराउण्ड प्रदर्शन गरिन् । ब्याटिङमा उनले अविजित २४ रन बनाइन् । १५ ओभरमा छोट्याइएको खेलमा दोस्रो विकेटका लागि यशु पाण्डेसँग ४१ रनको साझेदारी गर्दै टिमको स्कोर ८१ पुर्याउन मद्दत गरिन् । त्यसपछि आर्मीलाई ६७ रनमा अलआउट गर्न २ विकेट लिइन् ।
पहिलो खेलमा ब्याटिङ कमजोर भएकोले खेल गुमाएको र त्यसपछि राम्रो प्रदर्शन भएको कञ्चनले बताइन् । ‘पहिदो खेलमा हाम्रो ब्याटिङ अली नराम्रो भाथ्यो । त्यसपछिको दुई खेलमा सुधार भयो र टिमको सपोर्ट भएर राम्रो नतिजा आयो’ उनले भनिन् ।
राष्ट्रिय टिममा पुनरागमनको सम्भावना
२६ वर्षीय कञ्चन श्रेष्ठले नेपालको राष्ट्रिय टिमबाट समेत एक खेल खेलिसकेकी छन् । उनले सन् २०२३ नोभेम्बरमा भएको चारदेशिय टी२० सिरिजमा हङकङविरूद्ध खेल्दै नेपालको लागि डेब्यू गरेकी थिइन् ।
डेब्यू खेलमा उनको प्रदर्शन भने राम्रो हुन सकेन । उक्त खेलमा आठौं नम्बरमा ब्याटिङ गरेकी उनी १ रनमै आउट भएकी थिइन् । उक्त खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो ।
अहिले भइरहेको प्रधानमन्त्री कप सकिएपछि काठमाडौंमा नेपाल, नेदरल्याण्ड र थाइल्याण्ड सम्मिलित टी२० ट्राई सिरिज हुँदैछ । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनकै आधारमा त्यस सिरिजका लागि खेलाडी छनोट गरिनेछ ।
त्यसैले कञ्चनका लागि पनि राष्ट्रिय टिममा पुनरागमन गर्ने अवसर हुन सक्छ । ‘राष्ट्रिय टिमका लागि पिएम कप सेलेक्सन म्याच जस्तै हो । त्यसका लागि ब्याटिङमा अझ राम्रो गर्नुपर्छ । त्यसका लागि प्रयास गरिरहेको छु’ उनले भनिन् ।
प्रतिक्रिया 4