+
+

कम्बोडियामा मास्टरी गर्दा दीपेन्द्रले जन्माएको ‘केटी हराएको सूचना’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १२:२१

काठमाडौं । निर्देशक दीपेन्द्र गौचन शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’बाट दर्शकमाझ आउँदैछन् । ‘उजेली’पछि उनको यो दुई दशकपछिको निर्देशकीय पुनरागमन हुनेछ ।

लामो समय कम्बोडियामा शिक्षण पेशा गरेका गौचनले त्यहाँका विद्यार्थीको प्रेरणाको नतिजा यो फिल्म रहेको बताउँछन् । विद्यार्थीलाई २ जना पात्रमाथि कथा लेखेर दुई साताभित्र आफूलाई बुझाउन होमवर्क दिएको उनले सम्झिए ।

‘उनीहरुले दुई हप्ताको समयमा कथा त लेखे, तर सबै मैले अस्वीकृत गरिदिएँ । किनकी त्यो भन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ । तर विद्यार्थीले अन्य कथा जन्माएनन् । उल्टो उनीहरुले मलाई नै ‘तपाईं नै कथा लेखेर देखाउनुहोस्’ भनेर चुनौती दिए’, दीपेन्द्र सम्झन्छन् ।

विद्यार्थीको चुनौतीलाई स्वीकारेका गौचनले एउटा कथा लेखे र छोटो फिल्म निर्देशन गरे । यसले फेस्टिभलमा पुरस्कार जित्यो । कम्बोडियाबाट स्वदेश फर्किँदा उनले त्यही कथा बोकेर फर्किए ।

‘यहाँ आउँदा त्यही कथा नेपाली परिवेशमा झन सुहाउँदो र अझ प्रगाढ हुने पाएँ । मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने लाग्यो र यो फिल्मको कथा लेखें’, उनी भन्छन् ।

उनले ३ महिना लगाएर स्क्रिप्ट लेखे । उनले अंग्रेजीमा लेखेको स्क्रिप्टलाई अमित पोखरेल र अमितेश साहले नेपालीकरण गरे । स्क्रिप्ट अनुसार पात्र छनोट सहि भएको उनको दावी छ ।

‘हामीलाई काठमाडौंमा जन्मिएर यतै बसेको मधेसी टोन कम भएको पात्र चाहिएको थियो । त्यो पात्र हामीले नाजिरमा पायौं । पहाडी लुक्समा सृष्टि श्रेष्ठ फिट भइन् । किनकी उसलाई भेट्ने बित्तिकै म प्रभावित भए । गोरो अनुहार, पहाडी लुक्स अनि अङ्ग्रेजी बोल्ने पारा फिट लाग्यो’, गौचन बताउँछन् ।

ट्रेलरमा मधेसमा ‘नेपाली’ पहिचानको कुरा उठान गरिएको देखाइएको छ । ‘मधेसको पात्र बनाएपछि रहनसहनको मात्र कुरा आउँदैन, मान्छे बौद्धिक भए पनि उसको मनमा भावना गढिरहेको हुन्छ’ भन्छन्, ‘मधेस आन्दोलनको समयमा पहिचानको पनि कुरा आएको थियो । जतिसुकै हाँसखेल गरे पनि राष्ट्रियताको मामलामा उसको अडान नै हुन्छ’, गौचनको तर्क छ ।

उनी यो फिल्मलाई महिलाप्रधान बताउँछन् । ‘दर्शकले यस फिल्ममा मुख्य पात्र को भनेर छुट्याउन सक्दैन । राम नाजिर र सीता सृष्टि । दुवैको भूमिका बराबरी छ । त्यो बराबरीपन दिनु पनि महिलालाई प्राथमिकता दिनु हो’ भन्छन्, ‘महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरिञ्जित पनि गर्नुहुँदैन । म चाहिँ नेचुरल किसिमले होस् भन्ने चाहन्छु । मेरा लागि भगवानले नाजिर र सृष्टि जुराइदिएका हुन् जस्तो लाग्छ’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?