+
+

१६ लाख छात्रालाई एचपीभी खोप दिइने, खोप सुरक्षित रहेको विज्ञको दाबी

विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १६:४९

९ माघ, काठमाडौं । विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप दिन लागिएको हो ।

महाशाखा अन्तर्गतको खोप सेवा शाखाका प्रमुख अभियान गौतमका अनुसार आगामी २२ माघदेखि ६ फागुनसम्म खोप दिइन लागिएको हो ।

‘पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न विद्यालयका छात्राहरूलाई खोप दिन लागेका हौं,’ उनले भने, ‘खोप निःशुल्क लगाइने हो ।’

उनका अनुसार १६ लाख ८८ हजार ७ सय ६८ छात्रालाई खोप दिइने छ । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि खोप दिइने छ ।

विज्ञहरूले एचपीभी खोप सुरक्षित रहेको दाबी गरेका छन् । ‘विश्व स्वास्थ्य संगठनले समेत यो खोप गुणस्तरीय भनेर प्रमाणित गरेको छ । खोप लगाउने डराउनु पर्ने छैन,’ परिवार कल्याण महाखाका निर्देशक डा. विवेककुमार लालले भने, ‘खोपले जीवन रक्षा गर्छ ।’

क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार यो रोगको सुरुमा लक्षण देखिँदैन । ‘इम्युन सिस्टम कमजोर हुँदै गएपछि लाग्ने हो । सुरुमै लक्षण देखिदैन,’ उनले भनिन्, ‘कमजोर हुँदै गएपछि लक्षण पनि देखिन थाल्छ ।’

उनका अुसार पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्कपछि रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट पानी बग्ने, अनियमितरूपमा रगत बग्ने, कमजोर महसुस हुनेजस्ता लक्षण देखिन्छ ।

पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन एचपीभी खोप लागनु पर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डित बताउँछन् ।

‘पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा पहिचान गर्‍यो भने उपचार गरेर निको हुन्छ । अर्को एचपीभी खोपबाट जोगिन सकिन्छ । त्यसैले रोगबाट जोगिन छात्रालाई खोप लगाउन लागेका हौं,’ उनले भने ।

महाशाखाका अनुसार नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । जसमा हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ । औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसबाट संक्रमण हुने हो । एचपीभी भाइरसबाट पटक–पटक संक्रमण भएर २० वर्षसम्म यो संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

‘हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गराउनुपर्छ । ५–५ वर्षको अन्तरालमा परीक्षण गर्नु राम्रो हुन्छ,’ विज्ञ डा. घिमिरेले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?