+
+

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध ठगी मुद्दा दर्ता

पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १८:०५

९ माघ, विराटनगर । संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ ।

गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ ।
बिहीबार पोखरेलको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।

एमाले मोरङ जिल्ला सदस्यसमेत रहेका पोखरेलले पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए ।

एबीबीबीएसमा छोरीको नाम ननिस्कीएपछि उनले पैसा फिर्ता मागे । पैसा फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालको दाबी छ ।

ठगी मुद्दामा मोरङ प्रहरीले सुरुमा अनुसन्धान गर्न मानेको थिएन । बौआलाले ऋषिकेश अध्यक्ष भएको बेला एमाले जिल्ला कमिटीमा पनि उजुरी गरेका थिए । उनको उजुरीको पार्टीले कुनै सुनुवाइ नै गरेन ।

२०७४ साल असार २५ गते आइतबारको मिति राखेर आफूलाई जबरजस्ती ऋण लिएको भनी कपाली तमसुक बनाएको उजुरी प्रहरीले नलिएपछि उनले १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी पठाएका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थिए ।

गत ३१ भदौमा उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको गर्न आदेश दिएको थियो । आदेशको पुस ११ गते प्रमाणीकरण भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ठगीको विवरण सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।

पोखरेलका स्वकीय सचिवमाथि ठगी मुद्दा छ । श्रीमतीविरुद्ध सहकारी रकम अपचलन आरोप छ । उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा फरार रहेकी अन्जला २४ पुसमा अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि १० लाख धरौटीमा छुटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?