
९ माघ, सुर्खेत । नेपाली कांग्रेसका कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री यामलाल कँडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । कँडेल नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै कांग्रेससहितको सरकारका मुख्यमन्त्री हुन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकार सञ्चालनको गति बढाउनुपर्ने शाहीले बताए ।
‘कोही कसैलाई नटेर्ने मन्त्री भए । जसले जे गरे पनि कार्य सम्पादन राम्रो भइदिए हुन्थ्यो त्यो पनि भएन,’ अनलाइखबरसँग कुरा गर्दै शाहीले भने, ‘अब सबै मन्त्रीहरूलाई काम लगाउने, कन्ट्रोल गर्ने काम मुख्यमन्त्रीज्यूको हो । उहाँले नै अलि स्पिडमा हिँडाउनुपर्छ । अहिले चलेकै अवस्थामा सरकार चलाउन सकिँदैन ।’
शाहीले मन्त्रीहरूको कार्यसम्पादन समेत प्रभावकारी नभएको गुनासो गरे । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको समेत कार्यसम्पादन कमजोर देखिएको उनको भनाइ छ ।
‘अब ६–७ महिनामै मन्त्री परिवर्तन गर्नु पनि कसरी ? धेरै आशा गरिएका मन्त्रीहरूकै कार्यसम्पादन पनि राम्रो देखिएको छैन । तर कम्तीमा एक वर्ष काम हेर्नैपर्यो,’ उनले भने ।
कर्णाली प्रदेश सरकारले अहिलेको गतिमा काम गरेर नहुने उनले बताए । पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै भने, ‘अहिलेकै अवस्थामा जसरी सरकारले काम गरेर हुँदैन । क्याबिनेट कहिले बस्ने हो भन्ने समेत ठेगान छैन । मन लागे बस्ने नत्र कसैलाई वास्ता छैन जस्तो देखिन्छ ।’
जिल्लामा गएर ठाडो निर्देशन दिँदैमा कर्मचारीले नटेर्ने उल्लेख गर्दै शाहीले मन्त्रीहरूमा परिपक्वता नदेखिएको आरोप लगाए । उनले भने, ‘कसैले कसैलाई नटेरेको जस्तो पनि देखियो । मेरो दलबाट मन्त्रिपरिषद्मा सहभागी भएका साथीहरूको पनि परिपक्वता देखिएन । मन्त्री बने, झन्डा पनि हल्लाए । तर जसरी कार्यसम्पादन गर्नुपर्ने थियो त्यसरी कार्यसम्पादन भएको पाइँदैन ।’
शाहीले संसदीय समितिको सभापतिमा विपक्षी दललाई पनि हिस्सेदारी दिनुपर्ने विचार राखे । चार वटा समिति चार दललाई बाँड्न उपयुक्त हुने शाहीले बताए ।
‘एउटा समितिको नेतृत्व एकीकृत समाजवादीका साथीले नेतृत्व गरिरहनु भएको छ । सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई दिउँ,’ शाहीले भने, ‘बाँकी रहेका दुई वटामा समिति सामाजिक विकास समिति कांग्रेसले लिन्छ । अर्थ समिति एमालेलाई दिनुहोस् भनेको छु । बहुमतको हुर्मत देखाएर सबै आफैंले लिनुपर्छ भन्ने छ जस्तो पनि मलाई लाग्दैन ।’
कांग्रेसले विगतमा माओवादीसँग सत्ता गठबन्धन बनाउँदा लिखित सहमतिमा चलेपनि हाल भने त्यसो हुन नसकेको उनको भनाइ छ । ‘यो पटकको सत्ता समीकरण हुँदा म यहाँ थिएन । माथिबाटै यामलालजीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने कुरा भएछ । त्यो बेला हाम्रा साथीहरूले पनि निर्णय गर्ने कुरा भएन,’ उनले भने ।
दुई दलीय संयन्त्रको बैठक गत कात्तिकमै हुनपर्ने भएपनि हालसम्म बस्न नसकेको शाहीले बताए ।
प्रतिक्रिया 4