९ माघ, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल २०८१ बिहीबार देखि दशरथ रंगशालमा आयोजना हुँदैछ ।
लामो समयपछि दशरथ रंगशालमा हुन लागेको फुटबल प्रतियोगिता खेल्नका लागि खेलाडीहरू उत्साहित छन् । सभापति कपमा ए डिभिजन लिग च्यामपियन चर्च ब्वाइज युनाइटेड देखि आयोजकको टोली गरी ८ टोलीको सहभागिता हुनेछ ।
सभापति कपका लागि सबै टोलीहरू तयार रहेको बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा बताएका छन् । प्रतियोगितामा चर्च ब्वाइजसँगै मछिन्द्र क्लब, संकटा क्लब, एनआरटी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र बयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती युथ क्लबले खेल्नेछन् ।
बिहीबार हुने उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै क्लबले यस प्रतियोगिताका लागि आफ्नो टिम तयार रहेको बताउँदै उपाधि नै लक्ष्य भएको बताएका छन् ।
चर्च ब्वाइजका अफिसियल लबिश राईले सिक्किममा खेलेर आफ्नो टोली फर्किरहेको बताए । यस सिजन चर्च ब्वाइजले ७-८ प्रतियोगिता खेलिसकेको र टिम सेटमा रहेको उनले बताए ।
यस्तै संकटा क्लबका उपाध्यक्ष तथा व्यवस्थापक राजुमान तुलाधारले पनि आफ्नो टोलीले सभापति कपका लागि राम्रो तयारी गरेको बताए । तुलाधारले सभापति कपमा युवा खेलाडीहरू समावेश गरेर राम्रो टिम बनाएको बताए । ‘हामीले युवा खेलाडीहरूसहित विदेशी खेलाडीहरू पनि समावेश गरेका छौं, च्याम्पियन बन्ने लक्ष्य छ’
यसैगरी मछिन्द्र, एपीएफ, एनआरटी र आयोजक टोलीका प्रशिक्षक कप्तान र अफिसियलहरूले पनि सभापति कपका लागि राम्रो तयारी भएको र राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताए । प्रि म्याच कन्फ्रेन्समा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबाट भने कोही पनि उपस्थित थिएनन् ।
पहिलोपटक हुन लागेको सभापति कपको उद्घाटन खेल बिहीबार चर्च ब्वाइज र संकटा क्लबबीच दिउँसो ३ बजे दशरथ रंगशालमा सुरु हुनेछ । विजेताले नकआउट फुटबलकै सर्वाधिक २६ लाख पुरस्कार पाउनेछ भने उपविजेताले १३ लाख हात पार्नेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
आयोजकले भीआईपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरेको छ ।
प्रतिक्रिया 4