पोखरा । पोखराको हिमालयन गल्फ कोर्समा सूर्य नेपाल गल्फ टुर सुरु भएको छ ।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत वेस्टर्न ओपनको पहिलो दिन नीरज तामाङ दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा छन् ।
४–अन्डर ६५ को स्कोरमा नीरजले पहिलो दिन युवराज भुजेल र भुवनकुमार रोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन् । २–अन्डर ६७ को स्कोरमा युवराज र भुवन संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।
धनबहादुर थापा र सञ्जय लामाले १–अन्डर ६८ मा पहिलो दिनको खेल सकाए । उनीहरू संयुक्त रूपमा चौथो स्थानमा रहे ।
रामे मगर र जयराम श्रेष्ठ छैटौं स्थानमा रहे । उनीहरूले बुधबार इभन–पार ६९ मा खेल सकाए ।
प्रदीपकुमार लामा र एमेच्योर सुन्दर राईले १–ओभर ७० मा खेल पूरा गर्दै संयुक्त रूपमा आठौं स्थानमा छन् । यस्तै, विष्णुप्रसाद शर्मा र एमेच्योर सुरेश तामाङ १०औं स्थानमा रहे । उनीहरूले २–ओभर ७१ खेले ।
सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल ईस्टर्न ओपन जितेका नीरजले पोखरामा पनि सुरूवात राम्रो गरे । उनले बोगीरहित फ्रन्ट नाइन खेले । तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि १५औं होलमा एक सट खेर फाले पनि १०औं, १३औं र १६औं होलको बर्डीले ब्याक नाइन २–अन्डर ३३ मा सकाए ।
धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १–अन्डर ३३ को प्रदर्शन गरे । दोस्रो र तेस्रो होलमा बर्डीको सफलतामा सुरूवात राम्रो गरे । तर, पाँचौं होलमा डबल बोगी खेप्दा सातौं होलमा बोगीको सामना गरे । यसपछि आठौं र नवौं होलमा एक/एक सट बचाए । ब्याक नाइन उनले १–अन्डर ३४ मा सकाए । १३औंदेखि १५औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे तर १०औं र १८औं होलमा एक–एक सट खेर फाले ।
भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । १६औं र १७औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३५ मा पूरा गरे ।
एमेच्योरतर्फ सुन्दर राई १–ओभर ७० सहित शीर्ष स्थानमा छन् । उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे । सुरेशले पहिलो दिन २–ओभर ७१ स्कोर गरे ।
५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ । विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७२ हजार रुपैयाँ प्राप्त गर्ने छन् । शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्यनेपाल प्रालि द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागु हुनेछ । शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।
प्रतिक्रिया 4