+
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप :

सुपर सिक्सबाट वञ्चित नेपालको अस्ट्रेलियासँग सराहनीय प्रदर्शन

२०८१ माघ  ९ गते २१:१८ २०८१ माघ ९ गते २१:१८

अघिल्ला दुई खेलमा कमजोर देखिएको नेपालको ब्याटिङ र फिल्डिङ पनि यस खेलमा सुधारिएको देखियो । जसमा कप्तान पुजाकै भूमिका सबैभन्दा शानदार रह्यो ।

सुपर सिक्सबाट वञ्चित नेपालको अस्ट्रेलियासँग सराहनीय प्रदर्शन

९ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपमा पहिलोपटक सहभागी भएको नेपालले आफ्नो समूहका सबै तीनवटै खेलमा हार व्यहोर्‍यो ।

बुधबार अस्ट्रेलियासँगको खेलमा पराजित भएसँगै नेपालको सुपर सिक्स सम्भावना समाप्त भइसकेको छ । यद्यपी यस खेलमा नेपालले सोचेभन्दा राम्रो प्रदर्शन गर्‍यो जुन सराहनीय छ ।

टस हारेपछि पहिले बलिङ गरेको नेपालले अस्ट्रेलियाको सुरूवाती ३ विकेट ३ ओभरभित्रै लिएर दबाब सिर्जना गरेको थियो । त्यसपछि अस्ट्रेलियाले राम्रो साझेदारी बनाउँदै खेलमा राम्रो योगफल खडा गरेको थियो ।

१४० रनको लक्ष्य पछ्याएको नेपालले जित निकाल्न नसके पनि पूरा २० ओभर भने खेल्यो । नेपालले ८ विकेट गुमाएर ५६ रन बनाएको थियो ।

कप्तान पूजाले ४२ बलको सामना गरी १८ रन बनाइन् । अन्य ब्याटरहरूले पनि खेल जित्ने सम्भावना कम बन्दै गएपछि क्रिजमा टिक्नेतर्फ बढी ध्यान दिएका थिए ।

अघिल्ला दुई खेलमा कमजोर देखिएको नेपालको ब्याटिङ र फिल्डिङ पनि धेरै हदसम्म सुधारिएको देखियो । जसमा कप्तान पुजाकै भूमिका सबैभन्दा शानदार रह्यो ।

अस्ट्रेलियालाई सुरूवातमै दबाबमा राख्ने क्रममा नेपालकी कप्तान पूजा महतोले आफ्नो दुई ओभरमै ३ ब्याटरलाई आउट गरेकी थिइन् । जसमध्ये दुईवटा विकेटको श्रेय फिल्डर साबित्री धामीलाई पनि उतिकै जान्छ । साबित्रीले डाइभ गरेर दुईवटा शानदार क्याच लिँदै दुई विस्फोटक ब्याटरलाई आउट गर्नमा भूमिका खेलिन् ।

ब्याटिङमा पनि खेलाडीहरू सम्हालिएको प्रदर्शन गर्दै क्रिजमा टिकिरहेका थिए भने बेलाबखत बाउन्ड्रीका साथै राम्रो शटहरू निकालिरहेका थिए । बलिङमा अस्ट्रेलियाको ६ विकेट निकाल्न सफल भयो । पुजाले ३ तथा सिमाना केसीले २ विकेट लिँदा रिया शर्माले १ विकेट हात पारिन् ।

कप्तान पुजा महतोले बलिङमा ३ विकेट र ब्याटिङबाट १८ रन तथा एउटा शानदार क्याच पनि लिएकी थिइन् । कप्तान पुजाले कप्तानी प्रदर्शन गर्दा नेपाल भने अगाडि बढ्न सकेन ।

यस्तो रह्‍यो नेपालको यात्रा

नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको थियो । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभर नखेली ५२ रनमा अलआउट हुँदै बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य बंगलादेशले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालले सुरूवातमा विकेट लिएपनि त्यसपछि बंगलादेशको साझेदारी तोड्न सकेन ।

त्यस्तै दोस्रो खेलमा नेपाल जितको एकदम नजिक पुगेर पराजित भयो । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १९औं ओभरमा ७३ रनमा अलआउट भएर ७४ रनको लक्ष्य दिएको थियो ।

यस खेलमा पनि स्कटल्याण्डको सुरूवाती ३ विकेट ११ रनमा प्राप्त गरेको नेपालले त्यसपछि केही अन्तरालमा विकेट निकालिरहे पनि अन्तिम विकेट भने लिन नसक्दा १ विकेटको हार व्यहोरेको थियो ।

तेस्रो खेलमा अस्ट्रेलियासँग बलिङमा शानदार सुरूवात गरेपनि मिडल ओभरमा विकेट निकाल्न नसक्दा नेपालले बलियो लक्ष्य पाएको थियो जसलाई पूरा गर्न सकेन ।

कुनै पनि खेलमा जित निकाल्न नसकेपछि नेपाल समूह डी को पुछारमा रहँदै अघिल्लो चरणमा पुग्न असमर्थ रह्‍यो । नेपालले अब समूह ए को पुछारमा रहने वेस्ट इन्डिज वा मलेसियासँग प्लेअफ खेल्नेछ ।

नेपालभन्दा कमजोर देखिएको मलेसिया पनि जितविहीन रहेकाले नेपाललाई सान्त्वना जितका साथ घर फर्कने मौका हुनेछ ।

खेलाडीहरूको प्रदर्शन कस्तो ?

नेपालका लागि समूह चरणमा कप्तान पुजा महतोले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा राम्रो गरिन् । उनले समूह चरणका खेलहरू सकिँदासम्म नेपालका लागि सर्वाधिक रन बनाउँदा ३ खेलमा कुल ४७ रन बनाइन् ।

त्यसपछि सना प्रवीनको नाममा ३ खेलमा कुल २८ रन रह्‍यो भने साबित्री धामीले १८, सिमाना केसीले १७ तथा अलिशा यादवले १६ रन बनाइन् । अन्यको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन ।

बलिङमा पनि कप्तान पुजा महतोले नेपालका लागि सर्वाधिक ५ विकेट लिइन् । सिमानाले पनि ५ विकेट लिइन् । पुजाको इकोनोमी केही राम्रो रह्‍यो । रचना चौधरीले ३ विकेट लिँदा रिया शर्माले २ र कृश्मा गुरुङले १ विकेट लिए ।

नेपालको टोलीमा रहेका १५ मध्ये १३ खेलाडीले विश्वकपको समूह चरणमा मौका पाए । मिडियम पेस बलर कुसुम गोदार तथा स्पीन बलिङ अलराउण्डर स्नेहा महराले तीनवटै खेलमा मौका पाएनन् । उनीहरूलाई प्लेअफ खेलमा मौका दिन सकिनेछ ।

कप्तान के भन्छिन् ?

नेपालकी कप्तान पुजा महतोले बलिङ राम्रो गरेपनि ब्याटिङमा केही कमजोरी रहेको बताइन् । त्यसैगरी पाएको मौकाहरूलाई सदुपयोग गर्न नसक्दा नतिजा आफ्नो पक्षमा नआएको उनको भनाइ थियो ।

अस्ट्रेलियासँगको खेलअघि पुजाले टस जितेको भए बलिङ नै रोज्ने सोच रहेको बताएकी थिइन् । अस्ट्रेलियालाई सक्दो कम योगफलमा रोकेर लक्ष्य पूरा गर्ने सोच रहेको उनको भनाइ थियो ।

हारपछि उनले १४० रनको लक्ष्य पूरा गर्ने सोचेको तर अस्ट्रेलिया धेरै राम्रो टिम भएकाले कुनैपनि टिमलाई उक्त लक्ष्य पूरा गर्न कठिन हुने बताएकी थिइन् । ‘हामीले बलिङमा आजपनि राम्रो सुरूवात गर्‍यौं तर बीचको ओभरमा विकेट निस्कन सकेन, दुईजना ब्याटर राम्रो खेले’ उनले भनिन्, ‘हामीले धेरै कुराहरू सिक्ने अवसर पायौं जुन् पछिसम्म काम लाग्नेछ।’

आईसीसी यू-१९ महिला टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय