
भीम रावलको शब्दमा– ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिंड्न बाध्य भएँ ।’
केही समयअघि आएको उनीसँग सम्बन्धित अर्को समाचार । नेकपा एमालेले कारबाही गरेपछि भीम रावल नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । नेकपा विवादपछि १० बुँदे सहमति गरेर एमालेमै रहेका रावललाई पार्टीले पुस १० मा संगठित सदस्यता खोसेको थियो ।
त्यसो त पार्टीले कारबाही गर्नुभन्दा केही दिन पहिलेबाटै उनी नयाँ पार्टी निर्माणको तयारीमा जुटेका थिए । कारबाहीमा पर्नुभन्दा केही दिन पहिले नै सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीलाई आफूलाई साथ दिन आग्रह गरेका थिए । तर, जोशीले तत्काल नै आफूले त्यस्तो मनसाय नबनाएको प्रतिक्रिया दिएका थिए ।
‘तपाईंले खोल्ने पार्टी कम्युनिष्ट त होला नि हैन ?’ जोशीले रावललाई सोधेका थिए । ‘नाइँ अब गैर कम्युनिष्ट पार्टी खोल्छु’, रावलको प्रतिक्रिया थियो । त्यसको केही दिनपछि एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि भीम रावल पार्टी निर्माणका लागि देश दौडाहामा छन् ।
रावलले आफू निकटकालाई पार्टीको मूल एजेन्डाका विषयमा केही छलफल गरेका थिए । अधिकांशले कम्युनिष्ट भन्दा गैर कम्युनिष्ट पार्टी निर्माण गर्न सुझाव दिएको उनी निकट स्रोतले जानकारी दिएको छ ।
त्यसो त अरूले आफ्नो आलोचना गरेको सहनै नसक्ने र आत्मालोचना गर्नै नचाहने शीर्ष कम्युनिष्ट नेताहरूमध्ये रावल पनि अग्रस्थानमै आउँछन् । विरोधीलाई कसरी ‘साइड’ लगाउने भन्ने सवालमा केपी ओली र रावलमा धेरै भए २० या १९ को मात्रै फरक होला । अहिले ओलीको हात माथि पर्यो, रावलमाथि कारबाही भयो ।
कम्युनिष्ट घटकमा यताउता भइरहने नेता कार्यकर्ताहरूलाई उनको ‘निरंकुश’ शैलीको राम्रो ज्ञान छ । आफ्नो शैलीप्रति परिचित कम्युनिष्टहरूले जम्काभेटमा ‘नाइँ’ भन्न नसके पनि साथ दिने छैनन् भन्ने पनि थाहा छ रावललाई ।
फेरि धेरै नेपालीको बानी हो कि उनीहरू बलेको आगो ताप्छन् । रावल भर्खर आगो बाल्न खोज्दैछन् । ‘कम्युनिष्ट’ मात्रै भन्ने हो भने फेरि नाङ्लो भर्न सक्दैन कि भन्ने शंका छ उनलाई । त्यसैले उनी गैरकम्युनिष्ट नाम अगाडि सार्दैछन् ।
मैले चिनेको भीम रावल सबैलाई आफ्नो वरिपरि नचाउन चाहने धाकधम्की दिएर आफ्नो दुनो सोझ्याउने व्यक्ति हुन् । कुनै बेला ‘पार्टीले मलाई मन्त्री नदिए, मैले चाहेको मन्त्रालय नदिए सुदूरपश्चिममा आगो बालिदिन्छु’ भनेर धम्क्याएर मन्त्रालय पड्काउने व्यक्ति पनि हुन्, उनी ।
यसको ज्वलन्त साक्षी हुन्, माधवकुमार नेपाल । माधवकुमार नेपाल पनि उनीबाट आजित थिए । नेपाललाई किन तपाइँले पार्टी फुटाउँदा भीम रावललाई समेट्न कोशिश नगरेको भनेर सोध्नुभयो भने उनले के जवाफ दिन्छन् होला ! तर भीम रावललाई तपाइँ किन एकीकृत समाजवादीमा नगएको भनेर सोध्यो भने उनले पनि ‘अन्टसन्ट’ जवाफ दिनेछन् ।
यदि उनी सत्य बोल्न डराएनन् भने म माधवकुमार नेपाललाई नेता मान्न तयार छैन भनेर भन्नेछन् । त्यतिबेला भीम रावलको मनोविज्ञान के थियो भने– एमाले क्षत–विक्षत पार्ने र आफूले नेतृत्व हत्याएर मैले पार्टी जोगाउन यति गरें भनेर दम्भ देखाउने । दशौं महाधिवेशनमा निर्वाचन हारेपछिका क्रियाकलाप हेर्दा स्पष्ट हुन्छ ।
अहिले उनी भन्छन्, ‘जनताको हितको लागि नयाँ विकल्पमा हिंड्न बाध्य भएँ ।’ यसो भन्नुअघि नै उनले नयाँ पार्टी गठन गर्ने बारेका भनाइहरू सार्वजनिक छन् । ती व्यक्तिहरू जोसँग उनले पार्टीबाट निष्कासन हुनुअघि नै नयाँ पार्टी गठनबारे छलफल गरेका थिए के ती व्यक्तिहरूले आगामी दिनमा पनि उनलाई विश्वास गरिराख्लान् ?
जब माधवकुमार नेपालहरू नयाँ पार्टी गठन प्रक्रियामा लागे त्यतिबेला जर्मनीमा भएका नेकपा एमालेका सदस्य एवं समर्थकहरूमा एक हलचल नै भयो र यहाँ पनि साथीहरू विभाजित भए । मलाई लागेको थियो कि माधवकुमार नेपालले आफ्नो रगतपसिना प्रयोग गरेर लामो समय नेतृत्व गरेकाले उनी पार्टी विरुद्ध उत्रेलान् ।
तर, जब माधवकुमार नेपाललाई पार्टी दर्ता गराउन रामकुमारी झाँक्रीले डोर्याएर लगेको समाचार आयो अनि मैले अनलाइनखबरमा ‘कमरेड माधव र जेएनप्रति जिज्ञासा’ शीर्षकमा उहाँहरूसँगका मेरा अनुभवहरू बारे एक खुलापत्र लेखेको थिएँ ।
त्यतिखेर धेरै साथीबीच भीम रावल र घनश्याम भुसालबारे छलफल भयो । धेरैजसो साथीको तर्क थियो– यी दुवै एकीकृत समाजवादीतर्फ जान्छन् भन्ने थियो । तर मैले भनें, मैले चिनेको भीम रावल पार्टी अध्यक्ष बनुँ भन्ने महत्वाकांक्षा राख्छन् त्यसैले उनले माधवकुमार नेपालको नेतृत्व स्वीकार गर्ने छैनन् । उनी केही समय निहुँ खोजेरै एमालेमा बस्ने छन् र पछि चोइटिने छन् भनेर तर्क गरेको थिएँ ।
यतिखेर हिजो के भनियो र गरियो भन्ने भन्दा पनि अब भीम रावलको र उनको राजनीतिक यात्रा कहाँसम्म पुग्ला र कसरी अगाडि बढ्ला भन्ने कुराहरूले महत्व राख्नेछ । कुनै पनि राजनीतिक सिद्धान्त प्राकृतिक, सैद्धान्तिक नियम भन्दा अलग रहन्छ भन्ने हुँदैन ।
कार्ल माक्र्सले समाज विकासक्रमको व्याख्या गर्दा समेत प्राकृतिक नियम निषेध सिद्धान्तको व्याख्या गरेका थिए । जब सूर्य आफ्नै घेरामा नाचिरहँदा सूर्यको तेजले सूर्यबाट एउटा पत्थरको चोइटो अलगिन्छ र केही समय त्यसमा भएको तापक्रमको तेज, सूर्यको र पृथ्वीको चुम्बकीय शक्तिले नसेलाउँदासम्म अन्तरिक्षमा अडिइरहन्छ ।
त्यसपछि पृथ्वीमा खसेर कहीं कतै आगो लाग्ने अथवा कहीं कतै सानो वा ठूलो नोक्सान गर्छ । धेरैजसो पृथ्वीको एउटा अनकन्टार कुनामा माटोमुनि पुगेर त्यसको अन्त्य हुन्छ । हामीले राजनैतिक पार्टीहरूमा पनि मूलधारबाट चोइटिएर जानेहरूको यस्तै अवस्था देखिरहेका छौं ।
प्रतिक्रिया 4