
१० माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंमा नयाँ चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा आएको छ ।
गौशाला पिंगलास्थानमा यो होटल सञ्चालनमा आएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले होटल उद्घाटन गरे ।
बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो । यो ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो । होटल बेस्ट वेस्टर्न प्लस स्थापना गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको होटलका अध्यक्ष रामेश्वर अर्यालले बताए ।
उनका अनुसार होटलमा सुइट, प्रिमियम, सुपर डिलक्स र डिलक्स गरी ८४ कोठा छन् । होटलमा स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, एकै पटक ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्यांक्वेट हल, फिटनेस सेन्टर, स्पा, सौना लगायत विशेषता छन् ।
होटलमा १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट एकदमै नजिक रहेका कारण होटल बेस्ट वेस्टर्न प्लस चाँडै बजारमा स्थापित हुने विश्वास छ,’ होटल अध्यक्ष अर्यालले भने ।
होटलले युरोप, अमेरिका, अस्ट्रेलिया लगायत देशका पर्यटकसँगै बढी पैसा खर्च गर्ने भारतीय पर्यटक बढी लक्षित गर्ने अर्यालले जानकारी दिए । पशुपतिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकलाई होटलमा आकर्षित गर्ने बजार रणनीति रहेको उनले बताए ।
अर्यालको केएमसी ग्रुपले होटल बेस्ट वेस्टर्न प्लसमा डेढ अर्ब रुपैयाँ लगानी गरेको छ । उनको ग्रुपले होटल व्यवस्थापन अध्यापन गराउने एपालो इन्टरनेसनल कलेज सञ्चालन गर्दै आएको छ ।
होटल बेस्ट वेस्टर्न प्लसको व्यवस्थापन अमेरिकी होटल व्यवस्थापन कम्पनी बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोर्ट्स (बीडब्लू) ले सम्हालेको छ ।
सन् १९४६ मा अमेरिकाको एरिजोनामा स्थापना भएको बीडब्लूले १ सयभन्दा बढी देशमा गरी हाल ४ हजार ७ सयभन्दा धेरै होटल व्यवस्थापन गर्दै आएको छ । उत्तर अमेरिकामा मात्र यसले २ हजारभन्दा बढी होटल व्यवस्थापन गरिरहेको छ ।
बीडब्लूले पाँचतारे स्तरका होटलका लागि बेस्ट वेस्टर्न प्रिमियर, चारतारेका लागि बेस्ट वेस्टर्न प्लस र तीनतारेका लागि बेस्ट वेस्टर्न ब्रान्डमा होटल व्यवस्थापन गर्दै आएको छ ।
प्रतिक्रिया 4