
१० माघ, काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा लागेको भीषण आगलागी नियन्त्रण बाहिर पुगेको छ । मंगलबार दिउँसो २ बजेदेखि लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भीर भएको वन क्षेत्रमा आगलागी भएका कारण तत्काल आगो निभाउन नसकिएको हो ।
आगलागी भएको वन क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालति भए पनि तत्काल आगो निभाउन सम्भव नभएको उनले बताए ।
वनमा लागेको आगो मानवबस्तीसम्म आउन नदिनका लागि सुरक्षाकर्मीले अनुगमन गरिरहेको र जोखिम देखिए तत्काल स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन भइसकेको ढकालले बताए ।
वन कार्यालयमा बैठक
वन क्षेत्रमा लागेको आगो नियन्त्रणबारे छलफल गर्न जिल्ला वन कार्यालय काभ्रेमा सुरक्षा प्रमुखहरूको बैठक बस्ने भएको छ ।
बैठकमा आगलागी नियन्त्रण गर्नका लागि अपनाइने विभिन्न उपायहरूको बारेमा छलफल हुने बताइएको छ ।
स्थलबाट आगो निभाउन सम्भव नदेखिए हेलिकप्टरको प्रयोग गरेर भए पनि आगो नियन्त्रणमा लिनका लागि गृह मन्त्रालयसँग अनुरोध गरिने एक अधिकारीले बताए ।
काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड़काका अनुसार वनको आगो बस्तीसम्म आउन नदिनका लागि स्थानीयको सहयोगमा ‘फायर लाइन’ बनाउने काम भइरहेको छ ।
आगलागी भएको वन क्षेत्र बस्तीदेखि ३/४ किलोमिटर दुरीमा रहेको र बुधबार रातिभन्दा बिहीबार दिउँसो आगलागीको अवस्था केही कम देखिएको खड्काले अनलाइनखबरलाई जानकारी दिइन् ।
प्रतिक्रिया 4