+
+

‘अब मेरो एकपछि अर्को फिल्म आउँछ, त्यो पनि ग्रेट क्यारेक्टरसहित’

‘मलाई अहिले ब्याक टु ब्याक फिल्म गर्नुछ । बीचमा लामो ब्रेक लिएको थिएँ । अब चाहिँ दर्शकले के आशा राखे हुन्छ भने, अब ‘ब्याक टु ब्याक’ मूभी आउँछ, त्यो पनि ‘ग्रेट क्यारेक्टर’सहित । ‘गर्ल नेक्स्ट डोर’ मात्र हैन । अहिले मलाई गर्न मन लागेको फिल्मको अफर पनि आइराख्या छ । म एकदमै चुजी छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १५:२९

काठमाडौं । अभिनेत्री तथा मोडल आना शर्माको फिल्म करिअरले सन् २०२४ मा दशक नाघेको छ । रोमान्टिक ड्रामा ‘जेरी’बाट अभिनय करिअर थालेकी उनको पछिल्लो फिल्म ‘एक्टर : टेक वान’ प्रदर्शन तयारीमा छ । उनले ‘जेरी’पछि ‘ग्याङस्टर ब्लुज’ र ‘द म्यान फ्रम काठमाण्डू’मा पनि अभिनय गरिन् । चूजी स्वभावकी आनाले सुशान्त केसीको ब्लकबस्टर गीत ‘बार्दली’मा पनि अभिनय गरेकी थिइन्, जुन निकै हिट भयो । प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वान’मा उनको शीर्ष भूमिका छ । फिल्म, योजना र पात्रबारे उनले अनलाइनखबरसँग कुरा गरेकी छन् :

अहिले कुन मुडमा हुनुहुन्छ ?

अहिले स्ट्रेसको मुडमा छु । ‘एक्टर’को प्रमोसन भैराख्या छ । अर्को मूभी ‘मायाको माया’को वर्कसप भैरा’छ । ब्यस्त छु तर गुनासो छैन ।

अहिलेसम्म ६ फिल्ममा काम गर्नुभयो । यसबाट तपाईंले के सिक्नुभयो ?

पहिलो फिल्म ‘जेरी’लाई यत्तिकै पाएँ । मिहेनत गरेर हैन । त्यसपछि मलाई के लाग्यो भने, फिल्डमा अघि बढ्न अनुभव, ज्ञान र सीप चाहिने रहेछ । प्रत्येक फिल्ममा भिन्न पात्र चित्रण गर्दा परिस्थितीलाई कसरी सम्हाल्ने भनेर सिकेँ । अभिनेत्रीको रुपमा जीवन र हरेक पात्रमा सिक्दै अघि बढ्नुपर्छ । प्रत्येक पात्र र क्राफ्टलाई राम्रो गर्दै जाने र उत्तिकै ज्ञान बढाउँदै जानुपर्छ भनेर पाठ सिकेँ । मेरो डर के हो भने, म सीमित नरहुँ । म राम्रो छु र फिल्म मात्र गर्छु हैन । प्रत्येक फिल्मसँगै मलाई नयाँ गर्नु छ । केही सिक्नु छ । अहिलेसम्मका फिल्मबाट मैेले राम्रो, नराम्रो दुबै सिकिराख्या छु । मलाई फेलियरले पनि धेरै सिकाएको छ ।

आगामी फिल्ममा कस्ता चरित्रमा अभिनय गर्न मन छ ?

मैले ड्रीम क्यारेक्टर सोचेको थिएँ । गरेँ पनि । हालै गरेको फिल्म ‘मायाको माया’ भन्ने साइकोलजिकल थ्रीलर फिल्म हो । यो महिलाप्रधान फिल्म हो । त्यसअघि रोमान्टिक टाइपका क्यारेक्टर गरेको थिएँ ।

ड्रीम क्यारेक्टर भनेको कस्तो ?

संजयलीला भन्सालीका टाइपको । भन्सालीका ऐतिहासिक समयका पात्र हुन्छन् नि । किनभने, यी पात्र चुनौतिपूर्ण हुन्छन् । जस्तै, दीपिका पादुकोणले भन्सालीका फिल्ममा गर्ने संवाद प्रत्येक फिल्ममा भिन्न हुन्छन् । उसले गर्ने र सिक्ने तरिका भिन्न हुन्छ्न । कत्थकसहितका नृत्य गर्नुपर्छ । फाइट गर्नुपर्छ । फाइट, डान्स, डायलग सबै गरिराख्या हुन्छ । एक्ट्रेसलाई जसरी भन्सालीले पोट्रे गर्छन् नि यसले मलाई भन्सालीका पात्रमा काम गर्ने मेरो ड्रीम हो ।

आफूले अभिनय गरेका ६ फिल्ममध्ये कुनै फिल्मको पात्र उत्कृष्ट लाग्छ ?

अवश्य नै, ‘मायाको माया’ । किनभने, यो साइकोलजिकल थ्र्रीलर हो । यो फिल्म चाहिँ ‘हिप्नोथेरापी’बारे हो । यो पद्दतिलाई कतिपय देशमा अहिले प्रतिबन्ध लगाइएको छ । अहिलेसम्म कहिल्यै पनि यस्तो जनराको फिल्म गरेकी थिइँन । सुट गर्न यति मजा आयो । धेरै गहिराई र बुझाई । ऊ साइको हुन्छ, किन हुन्छ । सबै बुझेर गर्दा एउटा दृश्य चाहिँ १७ मिनेटको थियो । लगातार यो दृश्यमा १७, २० र २८ वर्षको रोलको रुपमा एक्टिङ गर्न पाएँ । एकदम चुनौतिपूर्ण पनि थियो । मजा पनि आयो । अहिलेसम्म ‘गर्ल नेक्स्ट डोर’का रोल गरेको थिएँ । फाइनल्ली अति सिरियस र डेप्थ भएको स्ट्रंग क्यारेक्टर खेलेँ पहिलोपटक । त्यो अवसर पाएँ मैले ।

नेपाली फिल्ममा कुन अभिनेतासँग आफूलाई अभिनय गर्न मन छ ?

सौगात दाई (सौगात मल्ल) । उहाँ मेरो मनपर्ने एक्टर हो । उहाँको एक्टिङ स्किल हेर्दा उहाँले कसरी काम गर्नुहुन्छ, त्यो प्रोसेस बुझ्न मन छ ।

तपाईं एकसाथ मोडल पनि हो र अभिनेत्री पनि । आफूलाई कसरी चिनाउनुहुन्छ ?

आइएम एन एक्टर । म अभिनेत्री हुँ । मान्छेहरू आएर मसँग फोटो खिच्छन् । राम्री छ भन्छन् । मलाई यसरी चिनिनु छैन । जब मलाई उहाँहरूले तपाईंको काम मनपर्‍यो भनेर भन्नुहुन्छ । यसरी म राम्रो एक्टरको रुपमा चिनिन चाहन्छु ।

‘बार्दली’ गीतपछिको रेस्पोन्स कस्तो आयो ?

यो गीतलाई अन्तर्राष्ट्रियरुपमा केही कलाकारले समेत राम्रो लाग्यो भनेर मेसेज लेख्नुभयो । यति ठूलो प्लाटफर्ममा सुशान्तको गीतबाट चिनिँदा र रेस्पोन्स पाउँदा अलिकति मलाई गर्व महसुस भयो । प्रबल गुरुङ दाईले पनि रि–पोस्ट गर्नुभएको थियो । पर्सनल्ली मेसेज पनि गर्नुभएको थियो । अप्रिसिएट गर्नुभयो । म इन्टरटेनमेन्ट बिजनेसको पार्ट हुँ नि त । त्यो ठूलो स्केलमा प्रतिनिधित्व गर्दा निकै खुसी लाग्यो । मेरो मूभी पनि एकदिन यसैगरि ग्लोबल जाओस् भनेर सोच आएको थियो । एकदमै खुसी छु म ।

सुशान्त केसीसँग आगामी प्रोजेक्टमा सहकार्य गर्ने सम्भावना छ ?

निश्चय नै । मूभी पनि आउला (हाँस्दै) । म्युजिक भिडियो तिर त अहिले छैन । फिल्मतिर होला कि ।

‘एक्टर’मा तपाईंको भूमिका के छ ?

यसमा मैले प्रकृति नामक पात्रको रोल खेलेकी छु । ऊ चाहिँ एक्टर प्रदीपको गर्लफ्रेन्ड हुन्छ । आफूलाई भन्दा पनि पार्टनरको ड्रिम र एम्बिसन्सलाई प्राथमिकतामा राख्ने टाइपको । उसले आफूलाई भन्दा पनि पार्टरनलाई टेक-केयर गर्छ । ऊ सपोर्टिङ गर्लफ्रेन्ड होला भनेर सोचिन्छ तर त्यो होइन । मान्छेले सुरुमा आफ्नो ख्याल राख्नुपर्छ । आफूलाई हेरेपछि अरुलाई दिन सकिन्छ । त्यो कारणले उसले फिल्मभर धेरै त्याग र समर्पण देखिन्छ ।

तपाईंको फिल्म करिअरमा ‘एक्टर’ले के अर्थ राख्छ ?

अहिले सोच्दा ‘एक्टर’ मेरो कमब्याक मूभीजस्तो लाग्छ । मेरो पछिल्लो फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ सन् २०१९ मा रिलिज भएको थियो । अहिले २०२५ मा नयाँ फिल्म आउँदैछ । तर, यो मूभी खुट्टामा पानीमा हल्का डुबाएजस्तै हो । चुर्लुम्म डुब्न बाँकी छ । अब लगातार फिल्म आउँदैछ । मायाको माया, रमिताको पिरती र अर्को साइन गर्न बाँकी फिल्म छ ।

सन् २०२५ मा योजना कस्ता छन् ?

मलाई अहिले ब्याक टु ब्याक फिल्म गर्नुछ । बीचमा लामो ब्रेक लिएको थिएँ । अब चाहिँ दर्शकले के आशा राखे हुन्छ भने, अब ‘ब्याक टु ब्याक’ मूभी आउँछ, त्यो पनि ‘ग्रेट क्यारेक्टर’सहित । ‘गर्ल नेक्स्ट डोर’ मात्र हैन । अहिले मलाई गर्न मन लागेको फिल्मको अफर पनि आइराख्या छ । म एकदमै चुजी छु । महिलाप्रधान फिल्म, बलिया पात्र भएका क्यारेक्टर आइराख्या छन् । यो वर्ष एउटा रिलिज हुँदैछ । सन् २०२५ मा ३ वटा फिल्म आउँदैछन् । यसवर्ष ग्ल्यामर इन्डष्ट्रिकै बिजनेस पनि गर्दैछु ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?